बेला बेला यो जीवन, खुकुरीको धारमा आउँछ
संसारका सबै दुःखपीडा, मेरो निधारमा आउँछ

सधैँ पढ भन्ने बालाई, पश्चताप छ अहिले
दशौं फेल उसको साथी, जब कारमा आउँछ

ए ! मेरो परदेशी साथी, घर फर्कनुस् अब
चर्न गएको माहुरी फर्की, आखिर घारमा आउँछ

गोरु बेचेको साइनो मात्र, भए पनि हुन्छ नेतासँग
देश विदेशका नियुक्ति सब, त्यसै उपहारमा आउँछ

पख्नुस्, ए प्रहरी दाइ, त्यो चोरलाई नसमात्नुस्
दुई चार वर्षपछि, त्यही सरकारमा आउँछ ।

गोकुलगंगा-३, रामेछाप
हालः रुम्बेक, दक्षिण सुडान