मैले आफ्ना कयौँ कर मरेको देखेकी छु
दुनियाँको अघि आफ्नो कहर मरेको देखेकी छु
आफूप्रति कयौँ घृणित व्यवहार हुँदा पनि आफू भित्रको जहर मरेको देखेकी छु

गाउँ, समाज हैन, मैले देश अझ भनौँ सहर मरेको देखेकी छु
वन जङ्गलमा पशुपक्षी अनि खर मरेको देखेकी छु

अनुशासन, संस्कार मात्र हैन न्याय माग्दा सरकार मरेको देखेकी छु
आफ्नो ऊर्जा शक्ति, साहस मरेको देखेकी छु

आफन्तजनको प्रेम, स्नेह मरेको देखेकी छु
आफू अनि आफ्नो बालापन मरेको देखेकी छु
सुन्दर लागेका कयौँ प्रहर मरेको देखेकी छु

सङ्घर्षको पदमा चालिएको पाइला मरेको देखेकी छु
ओठको मुस्कान मरेको देखेकी छु
निःस्वार्थपनको साथ मरेको देखेकी छु

सपना को कुरा छोड
विपनामा आफ्ना कयौ रहर मरेको देखेकी छु
भो सिकाउन छोडिदेऊ मलाई
मैले त आफूलाई जरुरत पर्दा आफ्नो घर मरेको देखेकी छु ।

सिन्धुली, रमाइलो टोल