फेरियो समीकरण फेरियो कुर्सी
फेरिए अनुहार फेरियो शर्तनामा
फेरिएका छन् पूल्चोकका पलङ
फेरिएका छन् सिंहदरबारका कुर्सी
फेरिन् थाले चेलाचम्चा चाकर
कस्लाई छाड्न मन होला हगि
अकुत शासकीय सुखसयल
कोही गाँठो फुत्केकोमा खुशी
कोही हातपातको छुटेकोमा दुःखी
कारिगर रातारात कोल्टे फेर्छन्
गाँठो बाँध्ने अनि फुस्काउने गर्छन्
कपास झैँ हलुका भएर उडाइदै छन्
हावा झैँ नदेखिने गरी उड्दै छन्
दृश्य अदृश्य मनुवा कहाँ पस्छन्
अत्तोपत्तो नै हुँदैन दिनचर्याको
काटेका माछा नदीमा गए भन्दै
छटपटाउदै मर्माहत छन् कोही
एकाघरमा सत्तो सरापको वर्षा छ
छिमेकमा माला खादा वर्षदै छ
ढोके झोले चम्चे ठेके लावालश्कर छ
धोकेबाजको पुनरमिलन भएको छ
आशंकायुक्त ढोल ठोक्दै बज्दै छन्
हर्कबढाइँ गर्दै सगुन गाउदै छन्
राजनीतिमा अम्भव केही हुन्न देख्यौं
राजनीतिमा स्थायी दुष्मन हुन्न बुझ्यौं
राजनीतिमा लाजशरम हुन्न थाहा पायौं
राजनीति भन्या शक्ति हो शक्ति
शक्ति भन्या सत्तामा हुन्छ
सत्ता भन्या सरकार हो
सरकार भन्या प्रधानमन्त्री हो
सरकार भन्या गृहमन्त्री हो
सरकार भन्या अर्थमन्त्री हो
सरकार भन्या भौतिक पूर्वाधार मन्त्री हो
यावत् गिद्देदृष्टि राख्दै बक्दै हिँडेका छन्
चुनावी कालमा छादेका नाराहरु
आश्वासनका पोकाहरु हराएका छन्
लोकतन्त्र, जनता, सुशासन, विकास
आदि ईत्यादि फेहरिस्त जीब्रोमा छ
मानौं अब जनहित र विकास बाहेक
अर्थोक केही गर्दैनन्
जल्या घर्को कुच्चोइ सही भन्दैछन्
पासा पल्टेको औधी खुशियाली मनाउदै
प्रचण्ड देशको गरिबी, रोग, भोक
अभाव, बेरोजगारी, कुसुशासन आदि भुत
अब गठबन्धले सखाप पार्छ भन्दैछन्
उहिलेका उहिले
पञ्चेले पनि दौरासुरुवाल टोपी भिरेकै थिए
सुरासुन्दरी मायाजालमा फसाएकै थिए
देशी विदेशी रिझाएकै थिए
आश्वासनका पोका बाँडेकै थिए
हाम्रो देशमा कोही भोका नाङ्गा नरहुन्
महानवाणी लेखेकै टाङेकै थिए
अल्पमतले बहुमतलाई कुप्लुक्क खाएको छ
केही लछारपाटो लागेन उहिले अहिले
एकथान संविधान लेखिदियौं भन्दै
मिसन चौरासीको भूमरीमा कस्दै फस्दै
ध्रुवे हात्तीको मात चढेका सर्वसत्तावादी
अचेल गाउँघरमा मात्तिएका पवनपुत्रझैँ
घरखेत कब्जा गर्दै औधी रमाएका छन्
लंकादहनको तयारीमा जुटे जस्तै
खै कुन भड्खालोमा जाकिन्छन् ।
• महालक्ष्मी-०१, इमाडोल, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










