एक बिहानै म ठोकिन्छु
कसैको गेटमा
कसैको ढोकामा
अनि कसैको झ्यालमा
कहिलेकाहीँ त पछारिन्छु पनि
कसै कसैको आँगनमा
***
भालेको डाँकसँगै घाम कडा नभएसम्म
पुगिसक्छु सबैको घरमा
साथमा हुन्छन्
अप्रिय खबरहरू
भ्रष्टाचारका खबरहरू
बलात्कारका खबरहरू
ठेला उठेका, पैताला खोस्रिएका
पर बस्तीका शोषित पीडितका कथाहरू
***
चियाको चुस्कीसँगै
आँखा तन्काई तन्काई
कोही निधार खुम्च्याँदै
हेर्छन् मलाई
अनि
मन अमिलो पार्दै
कोही धारे हात लाउँछन्
कोही मुठ्ठी कस्छन्
सत्तोसराप गर्छन्
एकाध मुस्कुराउँछन् पनि
***
अप्रिय खबरहरू
बिहानै सबका ढोकामा पुर्याउने
सबैको प्रिय अखबार हुँ म
थाहा छैन मलाई
यस्तो भारी कहिलेसम्म बोक्दै
घरघर पुग्नुपर्ने हो
***

अचेल
यस्तो भारी झन् धेरै बोक्न थालेको छु
यस्तो लाग्छ
म अझै भासिँदैछु
तल तल
संकटको खाडलमा
गरिबीको खाडलमा
अविकासको खाडलमा
अझै तल तल
खोई कता कता
सायद पुरिदैछु।
***
तर कहिलेकाही लाग्छ
यत्रो वितण्डा
कतै
शुभ विहानीको संकेत त हैन?
***
ठुलो हावा हुन्डरी अनि वर्षापछि
जसरी शहरहरू फेरी सुन्दर देखिन्छन्
आशा छ
देश पनि त्यस्तै सुन्दर देखियोस्
अनि बोक्न परोस्
आशा, विश्वास
सम्भावना अनि विकासका कथाहरू
सधैँझैँ ठोक्किँदै
कहिले गेट
कहिले ढोका
कहिले झ्याल
त कहिले पछारिँदै तिनै आँगनहरूमा
फरक यत्ति कि
ती आँगनहरूमा फूल फूलेका हुने छन्
झ्यालमा चराहरू चिरबिराएका हुनेछन्।

भोजपुर
हालः हात्तीवन, ललितपुर