मनके हारे हार है मनके जिते जीत ।
कहे कबीर हरि पाइए मन ही की प्रतीत ।।
– सन्त कबीर दास
अर्थात्
जीवनमा हार जीत केवल मनको भावना हो । मनुष्यले मनैदेखि हार स्वीकार गर्छ, निराश हुन्छ भने ऊ पराजित हुन्छ । यदि उसले मनलाई जित्छ, संकल्प गर्छ, दृढ र निष्ठापूर्वक कर्म गर्छ भने ऊ सदा विजयी छ । ऊ विजेता हुन्छ । ईश्वरलाई पनि मनको विश्वासले मात्रै पाउन सकिन्छ । यदि पाउने चाहना नै छैन, पाउन सक्छु भन्ने विश्वास नै छैन भने कसरी प्राप्त गर्न सकिन्छ ?
हो, यो भनाइ म मेरो जीवनमा लागु गर्छु किनकि मैले आफूले अनुभव गरेको छु, मैले जति पटक मनैदेखि विश्वास गरेर कुनै कार्यको थालनी गरेको छु, त्यति पटक सफलता पाएको छैन होला तर धेरै सिकेको छु । र, त्यो शिक्षाले मलाई पुनः उठ्न र कोसिस गर्न भरपूर साथ दिएको छ ।
म एउटा अनपढ हुँ, मात्र छ कक्षा पास गरेको मान्छे हूँ म तर मैले मनैदेखि गर्न सक्छु भन्ने विश्वासले धेरै यस्ता कामहरू गरेको छु कि आफैँलाई पनि कहिलेकाहीँ अचम्म लाग्छ। मलाई चिन्ने धेरैले त विश्वास गर्दैनन् र धेरैले मेरो बारेमा जानेपछि मेरो कामको प्रशंसा पनि गर्ने गर्छन् ।
आज यो प्रसंग मैले कसरी खोलें त भन्दा म आज निकै खुशी छु र थोरै आफूले सफलता पाएको महसूस गरेको छु । मेहनतको फल पाएको महसूस गरेको छु । कसरी र कुन मेहनतको फल भन्नु पर्दा म लगभग छ सात वर्षदेखि इन्टरनेटको धेरै उपयोग गर्न थालेको छु । इन्टरनेटलाई म सफल व्यक्तिहरूको अर्को दिमाख मान्छु ।
मैले इन्टरनेटका माध्यमबाट धेरै कुरा सिकेँ । म सानैदेखि साहित्य रचना पढ्न, सुन्न निकै सौकिन पनि थिएँ । मैले इन्टरनेटका माध्यमबाट साहित्य रचनाहरूको भरपूर स्वाद लिइरहेको छु । करिब छ सात महिनादेखि म साहित्यमा अझै भित्रसम्म पुगेको छु ।
मैले इन्टरनेटकै सदुपयोग गर्दै ‘हाम्रो कथा घर, नामक YouTube च्यानलका माध्यमबाट साहित्य रचना वाचन गरेर प्रशारण गर्ने गरेको छु । इन्टरनेटकै माध्यमबाट मैले ग्राफिक डिजाइनसम्बन्धी केही सिकेको थिएँ । आज त्यही अनुभवको मैले फल पाएको छु । लामो समयदेखि साहित्यमा पनि केही गर्न सकिन्छ भन्ने धारणाका साथ साहित्यकारहरूलाई हौसला दिँदै हातेमालो गर्दै अगाडि बढी रहेको संस्था साहित्यपोस्ट www.sahityapost.com सँग आज म पनि “स्मार्ट पोएम… पोस्टर डिजाइनरका रूपमा जोडिन पाएको छु ।
त्यसैले म अत्यन्त खुशी छु र मजस्तो अनपढका लागि यो धेरै ठूलो सफलता हो । चाहेर गर्यो भने के गर्न सकिन्न भन्ने यो उदाहरण पनि हो जस्तो लाग्छ ।
म धेरै धेरै धन्यबाद दिन चाहन्छु । विषेशतः www.sahityapost.com का प्रधानसम्पादक अश्विनी कोइराला, www.sahityapost.com का लेखक जनक कार्कीलगायत सम्पूर्ण www.sahityapost.com सदस्य समूहमा ।
जीवन सोनी
(हाम्रो कथा घरका संस्थापक तथा सञ्चालक )
सल्यान, कर्णाली प्रदेश
हालः पंजाब, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।