इतिहास होस् या ग्रन्थ
गाथा जहिले सत्ताकै आउँछ
किन बाँच्न सकेनन् हरेक युग
शिल्पी, ज्यामी र चमारहरू !

बडा महाराजहरूले
भूगोल विस्तार गर्दै गर्दा
किन हराउँछन् बिसे नगर्चीहरू
सीमाभित्रकै कथाहरूमा !
किन कोरिएनन् नामहरू
शिलापत्रहरूमा
नालापानीमा ओइरिएका
स्वास्नीमान्छे र केटाकेटीहरूको !

भाइ भारदार
कोतपर्वमै मात्र काटिएका हुन् र ?
किन न्याय दिएन इतिहासले
आइतहाङ्गको जार तिर्न जाँदा
भञ्ज्याङमै छप्किएका लमीहरूलाई !
किन स्तुतिगान गाइएन
मण्डलहरूमा
कोशीको भेलमा
यात्रा चलाउने माझीहरूको !

भो अब त धेरै भयो
दरबारको कौशीमा बसेर गाइएको
राजा, रानी, प्रभु र स्वामीका भजनहरू !
इतिहासको त्यो कालो रातबाट ब्युँझिएर
म कोर्दै छु केही कथाहरू
खेतबारीमा सुन फलाउने
श्रमजीवी हातहरूको !

धरान उपमाहानगरपालिका
सुनसरी