काफल गेडी कुटुक्कै
लाजले भुतुक्कै हुनुभाको रे
ऊ बेला मेरा बा
आमालाई पहिलो पटक देख्दा
अनि आमाचाहिं हिउँ पग्लेर पानी
बिहे पनि बाजेको इच्छा भएर गरेको रे बाले
एक चिम्टी सिन्दुर र दुई त्यान्द्रा पोतेले
चऱ्याप्पै कसेको रे
जुनीजुनी सँगै बाँच्ने बाचा
एक धर्ती गुराँस हातमा लिएर
सिंगै मुटु हातमा राखेर
रोमान्टिक मुडमा आई लभ यु
कहिलै भन्न नजानेको रे बाले
तै पनि माया एक सागर जति नै छ बाको
एक गेलास पनि माया देखाउन नसक्ने बा
माया भने एक गाग्री नै गर्छन्
त्यो पनि जुठो नहालेको
बाको पिरेम् जति अव्यक्त छ
उत्तिनै गहिरो र प्रगाढ पनि
मेरा एघार जना दाइदिदीलाई
भगवानको वरदान भनेर
हात थापेको रे मेरी आमाले
विचरा
फूलजस्ती आमालाई के थाहा
भगवान दिन साथैमा, रात खाटैमा
आफैँसँग सुतिरहेछन् भनेर
माइली जन्मेपछि
आमाले पहिलो पटक
बाको आँखामा हेरेर
धनेका बा झुलो छ? भनेको रे
अनि लाजले भुइँतिर हेर्दै
चुपचाप चुपचाप बसेको रे
बाले आस्कोटको गोजी छाम्दै
झुलोको झुसिल डल्लो हातमा
थमाइदेको रे आमालाई
मेरा बा आमाको पिरेम्
हिराजस्तै होला सायद
एउटा पत्थर वर्षौंपछि
मूल्यवान् गहना भएजस्तै
त्यही भएर होला बाको पिरेम्
सधैं चम्किराखेको
आधुनिक युगका विकसित मानिसहरूको प्रेम
विज्ञान र प्रविधिले फड्को मारेजस्तै
एकै नजरमा रोपिन्छ
एकै छिनमा फक्रन्छ, फुल्छ
नाङ्गिन्छ र केही समयमै ओइलाएर झर्छ
अहो, बाको पिरेम् !
अहिलेको प्रेम त मनले मनलाई भन्दा पनि
मनले धनलाई गर्छ बढी
बाको पिरेम् जो झाङ्गिन वर्षौं लागेको थियो
टिक्न पनि सात जुनिसम्म टिकिरहेछ
कालो केश झरेर तालु चिल्लो आलु भै सक्यो
सेता दाँत झरेर थोता गिजा भै सके
तैपनि बाको पिरेम् कहिल्यै ओइलाएन
बाको मुखबाट तुच्छ वचन कहिल्यै झरेन
आँखाबाट रिस कहिल्यै चुहिएन
तामा पगालेर फलाम जोडेजस्तै बाको पिरेम्
बा बेलाबेला गिला गिजा देखाउनु हुन्छ
आमा पनि गिलै गिजा देखाउनु हुन्छ
म कहिलेकाहीँ ती गिजाहरू
एकअर्काका गालामा गला लगाई रहेको देख्छु
ओहो, मेरा बाआमाको भाग्य !
पहिलो नजरदेखि अन्तिम दृश्यसम्म सँगै
ऊ बेला हनुमानले सुमेरू पर्वत उचालेको रे
आमाले त हनुमान नै उचाल्नु भाको
वर्षैपिच्छे जो आफ्नै गर्भमा राखेर
बाले दिएको मायाको लौरो टेक्दै
बाको पिरेम् अमर छ र हुनेछ
मेरो प्रेम पनि बाको पिरेम् जऽऽस्तै अजर,अमर होस् !