आज पनि स्कुल छुट्टी नहुँदै
आधा दिनमै घर फर्की छोरी
यसरी पटक पटक छोरी
स्कुल छाडेर आधा दिनमै घर फर्कन्छे
स्कुल छाडेर घर पर्कनु उसको रहर हैन
छोरी सानै छे तथापि
बाख्रा दाम्लामा बेरिए होलान् भन्ने चिन्ता छ
गाईबस्तु भोकाएर कराए होलान् भन्ने औडाहा छ
साँझमा अगेनु बाल्न दाउराको बन्दोबस्त गर्नुछ
करेसा बारीबाट तरकारीको जोहो गर्नुछ
आजझैँ कयौँ दिन
यसरी नै आधा दिनमै स्कुल माया मारेकी छे छोरीले
उसलाई थाहा छ
ऊसँगका सबै दौँतरी
स्कुलमा पुरै समय बिताउँछन्
पढाइ भए नभए पनि खेल्नु उनीहरूको स्वतन्त्रता सम्झन्छन्
स्कुल छुट्टीपछि मात्र घर फर्कन्छन्
यस्ता रहर मेरी छोरीका मनमा नपलाएका होइनन्
तर ऊ
उसका बाबुको झुस्स परेका दारीले
दर्शाएको अव्यक्त वेदना बुझ्छे
कयौँ दिनदेखि कलेँटी परेका
बाका ओठको भाव अडकल गर्छे
परिवारको पेटपूजाको लागि
बाले दिनभरि मजदुरी गरी ल्याएको
आधा पेटमा छाक टार्न धम्मे परेको बाध्यतामा
बाका चाउरी परेको मलिन अनुहार पढ्छे
त्यसैले मेरी छोरी
बा !
मलाई पेन्सिल छैन भन्न सक्तिन
कापी किताब बोकेर पुरै समय
स्कुलमा बिताउने रहरभन्दा
बाको झुत्रो भएको दौरा
आमाको दश ठाउँ भ्वाङ टालिएको चोली
अनि भाइको नाङ्गो आङ ढाक्न
आजसम्म पनि
नटालेको भोटो
पर्न नसकेको दारुण परिवेशमा
उसले आफ्नो सुन्दर भविष्य देख्न सक्तिन
त्यसैले
छोरीले स्कुल छोडेर घर फर्कनुमा के अनर्थ भयो र
उसले रहर निमोठ्नुमा के निरर्थक ठहरिएला र
गरिवीले डामेको उसको जीवनमा
पड्न नपाएको पीडाले मनभरि पोले पनि
परिवर्तनको आशामा
यो धर्तिको आँगनमा
हाँसी हाँसी नाच्न चाहन्छे
हेयको सागर घुटुक्क पिएर भए पनि
मेरी छोरी
असल मान्छे भएर बाँच्न चाहन्छे ।
बुढानीलकण्ठ, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।