सुनसुन नानी हो, म केही भन्छु
साना किरा कमिलाको सवाई कहन्छु
दुलोबाट निस्केर खाना खोज्न हिँडेको
ठूलो टुक्रा रोटी त तान्न एक्लै भिडेको

यता तान्छ आएन उता तान्छ आएन
आफूभन्दा ठूलो छ रोटी तान्नै सकेन
एक छिन उभियो के के गर्ने भनेर
बोलाई ल्याउँछु साथीभाइ एक, दुई, तीन,चार गनेर

फर्किगयो दुलोमा साथी लिई निस्कियो
कमिलाको हुल नै रोटी लिन तम्सियो
समूह नै मिलेर रोटी तानी ल्याएर
खुसीभए कमिला मिठो रोटी पाएर

सकिँदैन ठुलो काम एक्लै गर्ने कसरी
मिलिजुली गरौं है कमिलाले जसरी
मिहिनेत गर्‍यो भने सबै आफ्नो काम
सफल हुन्छ मिहिनेत तिमी पनि जान ।

इटहरी, सुनसरी