आमाको कोखभित्र
उनकै सास फेरेर म अङ्कुराएँ
धरतीमा आएपछि
पवनको स्पर्श पनि पाएँ
अँधेरी रात चिर्दै घाम आउँथ्यो
र, न्यानो दिएर जान्थ्यो
दूर आकाशदेखि बर्सात आउँथ्यो
साहस थपेर जान्थ्यो
धन्य प्रकृति !
धन्य सहनशीला !
तिम्रै अनुग्रहले
तिम्रो वक्षभित्र पसेर जरा फैलाएँ
तिमीलाई समाएर उभिन पाएँ
विडम्बना !
अनायास एक हूल मानिस आएर
मलाई एकवचन सोध्दै नसोधी
मेरो पीडाको रत्तिभर फिक्री नगरी
उखेले मलाई जरैदेखि
र, जकड्दै लगेर
रोपे कतै पराई आँगनमा
समयले नेटो काटेपछि पो चाल पाएँ
जन्मिएकै आँगनमा
मेरा इच्छाका कुसुमहरू निमोठेर
आमाकै काखमा
मेरा अधिकारका डालीहरू काटेर
मलाई भमरोको जिम्मा दिइएको रहेछ
यति प्यारो सम्झेको मेरो अस्तित्व
यो समाजको दृष्टिमा बिकाउ रहेछ
रुढिवादसँग बिन्ती बिसाउँदा
रीतिरिवाज भन्दै सिंहझैँ गर्जियो
परिवर्तनसँग अनुरोध गर्दा
भविष्यतिर सङ्केत गर्दै चुप लाग्यो
कसैसँग थिएन मलाई चित्त बुझ्ने जवाफ
थिएन मेरा बा आमासँग पनि
आँसु झारेरै टारिन् आमाले
मौन बसेरै पन्छाए बाले
बाँच्न सके पीडा सहेर
समयले मल्हम लगाउँदो रहेछ
सम्झनाको घाउ पुरिँदै गएपछि
खुम्चिएका पाउ फेरि फैलिँदो रहेछ
के थालेकी थिएँ रमाउन बहार फर्किने आशामा
अचानक फेरि आए एक हूल मानिस
र भने मलाई—
“तिमीले रङ्गीन भेष छोड्नुपर्यो
सफेद पहिरनसँग नाता जोड्नुपर्यो
सिन्दूर, चुरा अब लगाउनु हुँदैन नानी
तिमीले रहरका चुरा फोड्नु पर्यो”
मेरो आशाको वसन्त एकाएक जल्यो
मेरो विश्वासको धरहरा गर्लम्म ढल्यो
एक सुमनलाई कोही किन रङ फेर्न भनिरहेछ ?
स्वतन्त्रताको प्वाँखलाई कोही
किन जन्जिरले बेर्न भनिरहेछ ?
बा !
मेरो जीवनमा यस्तो बारम्बार
किन भइरहेको छ ?
आमा !
मेरो बाटोमा पहिरो लगातार
किन गइरहेको छ ?
ईश्वर ! तिमी कहाँ छौ ?
मेरो आवाज सुनिदिने को छ ?
आखिर समाजले चाहेअनुसार भयो
मेरो जीवनमा रङको दाहसंस्कार भयो
समयले चेतनामा रफु भर्दै गएपछि
बल्ल बुझेँ मैले—
म विधवा भएकी रहेछु
अलिखित इतिहासको
अर्को बालविधवा भएकी रहेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।