आमा
मलाई मेरो स्वर्ग जस्तो देश यसै छोड्न मन छैन
बिग्रिँदै गएको समाजप्रति चिन्ता नभएको पनि हैन
सयौँमा एक छ मेरो देश मलाई थाहा छ
देश छोड्नु मेरो बाध्यता हो
माया मारेको पक्कै होइन

आमा
मलाई थाहा छ जन्मिएपछि एक दिन मर्नु पर्छ
तर भोकै मारिन्छ कि भन्ने डर लाग्दोरहेछ
मलाई जन्माउने मेरो देश मैले बचाउनु पर्छ
थाहा छैन मैले मेरो देश बचाउन सक्छु कि सक्दिनँ
तर देशप्रति गैरजिम्मेवार भएको पक्कै छैन

म सम्झन्छु
हिजो परिवारसँगै रमाएको पल
आज परिवारसँग बिछोडिएको पल
बाआमाको बुढेसकालको लौरी पराई भएर
उनको खुसीमा ग्रहण लगाएर
बालबच्चाको भविष्य खोज्दै–खोज्दै परदेशिएको क्षण

चिन्ता लाग्छ मलाई मेरा सपनाको
कतै पूरा नभई बिचैमा टुट्ने त होइन
चिन्ता लाग्छ मलाई मेरी आमाको
नारीमा पुरा नभएका चुरा कतै म नपुग्दै फुट्ने त होइनन्
डर लाग्छ मलाई मेरा बाले बनाएको घरको
कतै गरिबीका असिनाले कुट्दा कुट्दै थाकेर ढल्ने त होइन

सम्झिन्छिन् होला उनले
पूरा जीवनसँगै बिताउँला भनेर खाएको वाचा
भन्छ होला छोराले
बाले तातेताते गर्दै डोर्‍याएको हात बिर्सियो
के सोचे होला बाले
जीवनको भारी बोक्दा–बोक्दै थाकेको काँधले आराम नपाउँदा
हेरिरहेकी होलिन् आमा
छोरो फर्कने मूलबाटोतिर
रुन्छन् होला मेरा पाखा पखेरा
आज अरुकै भूमिमा पसिना बगाएको देख्दा

म त्यहाँ छैन आमा तर मेरो मन त्यतै झुमिरहन्छ
हाम्रा पुर्खाहरूको बलिदान मस्तिष्कमा घुमिरहन्छ
कति चिन्तित होलान् सहिदहरू
हामीलाई अरुकै शरणमा देखेर
निदाउन सक्दिन आमा दिन रात यही सोचेर

आमा वर्षौं भयो यो मरुभूमिमा अझै वसन्त आएको छैन
भन्छौ होला परदेशिएको छोरो निष्ठुरी भएको छ
कसरी बुझाउँ म
वर्षौंअघि परदेशिएको मेरो मनले अझै
परदेशिन मानेको छैन
चिन्ता नगर आमा, म साथमा छैन तर
मेरो राष्ट्रियता अलिकति पनि डगमगाएको छैन ।