आख्यानका हजारौँ पृष्ठहरूमा
अटाउन नसक्ने एउटा कथा
कविताका बिम्ब र प्रतीकहरूमा
उतारेर नभ्याइने अन्तहीन भाव
हो, मैले बुझेकी अस्मिता
एउटा नाम मात्र होइन

समर्पणको उपल्लो किनारासम्म
बगिरहने नदीको गीत हो अस्मिता
गति नै उनको जीवन
अहँ, रोकिँदैन उनको यात्रा
गतिमान् भई नै रहन्छिन् उनी
कुहिनो जुधाउँदै अक्करे चट्टानहरूसँग

लाग्छ, त्याग र निष्ठाको
पराकाष्ठा नै हुन् उनी
उनलाई बुझ्न, चाहिन्छ
आकाशजस्तै फराकिलो फैलाई
भावनाको क्षितिजसम्म फैलिएको
उज्यालो हेराई
जो, आफूले पाएको एउटै जीवन
आफ्ना लागि कम
र आफ्नाका लागि ज्यादा बाँचिदिन्छिन्

विश्वास छैन मलाई
ढुङ्गामा कुँदिएकी
र कथामा बुनिएकी देवीको
यदि साँच्चिकै
देवीको प्रतिरूप कतै छ भने
उनैलाई हेरे पुग्छ
उनको सेवाभावको अघि
सगरमाथाको उचाइ पनि झुक्छ

जस्तै आँधीहुरीबीच पनि
ठिङ्ग उभिन सक्ने
सतिसाल उनी
धुरीखाँबो बनेकी छिन्
पीडाको घरमा
र, दिएकी छिन् शीतल छहारी
घरलाई घरजस्तै बनाएकी छिन्
भरेर स्नेहको न्यानो
बनेकी छिन्
जीवन जिउने आधार र मायाको छानो

खै, यतिखेर म
कुन शब्दमा लेख्न सक्छु र
उनका बारेमा कविता
खै, कुन दृश्यमा पो
देखाउन सक्छु र
उनका भोगाइलाई सुहाउने बिम्ब
आफ्नो उमेरभन्दा धेरै गुना परिपक्व उनी
एकै जुनीमा
धेरै जीवन बाँचेकी उनी
अहँ, आज म लेख्न सक्दिनँ एउटै कवितामा
सक्दैसक्दिनँ उतार्न एउटै शब्दचित्रमा
हो, एक्काइसौँ शताब्दीकी एउटी अस्मिता
हुँदै होइन
कदापि होइन
अस्मिता एउटा नाम मात्र पक्कै होइन।