मसँग केही थिएन शब्द
त्यही निःशब्दबाहेक
तिमीलाई भन्नुपर्ने
भनेँ
त्यही भनेँ
जुन तिमीलाई भन्नैपर्ने थियो
सर्वश्रेष्ठ प्राणी तिमी
चेतनशील तिमी
र विवेकशील पनि
जन्मिँदै नायक थियौ
मान्य थियौ
पहिलो स्थानमा थियौ
नायक देखिनकै निम्ति
रोज्यौ त खलनायकको बाटो
किन ?
मान्य मानिनकै निम्ति
समायौ त असामान्य उपाय
किन ?
रमाउन पहिलो स्थानमा
अपनायौ
अन्तिम तुच्छ बाटो
किन ?
खोज्यौ त
सक्यौ त
आफ्नै सुगन्ध खोस्न
किन ?
रोज्यौ प्रभुत्वमार्ग
सहअस्तित्वसम्म पुग्छु
तिमी नै भन्छौ
प्रतिस्पर्धा आफ्नैसँग
पछार्छौ आफ्नैलाई
सहकार्य गर्न खोजेँ
तिमी नै भन्छौ
चिन्दैनौ आफ्नै बाटो ?
हिँड्दैछौ कहाँ ?
पद र पैसाको लालसा
मिथ्या अहङ्कारको आत्मरति
मन रमेकै छ तिम्रो
तिमीलाई के पुगेन ?
मसँग केही थिएन अस्त्र
त्यही एक शास्त्रबाहेक
तिमीलाई दिनसक्ने
दिएँ
त्यही दिएँ
जुन तिमीलाई दिनैपर्ने थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला