भागबन्डा र लुछाचुँडीले देश च्यात्तिएको बेला
बेइमानी र बेथितिको चाङले सुशासन निस्सासिएको बेला
नैतिकता र न्यायलाई डम्पिङ साइटमा कुहाइएको बेला
आसेपासे, बाहुबली, गुण्डा र डनहरूले ज्ञानी र सन्तहरूको उठिबास लगाइएको बेला
आशाको भ्रूण आफैं मेटामोर्फोसिस हुँदै ‘विकास र न्याय’ जन्मिने झिनो जीजिविषा बोकेर
प्रशव वेदनाको छटपटीमा देश रोइरहेको बेला
कुर्ली कुर्ली बुख्याचाहरूले आफ्नो खिल्ली उडाएपछि
आफ्नै योग्यता र भरोसाले लात खाएपछि
यही माटोमा पसिना रोपेर सुन फलाउँछौं भनी कसम खाएका नौजवानहरू
आशा र भरोसा पोलिएको तिलक दलेर
मातृभूमिसँग माफीको आँसु चुहाउँदै
लस्करका लस्कर देश छोड्दै हिँडिरहेछन्
र, प्रियजनका अनिश्चित भविष्यको त्रासदिमा
बन्धुबान्धव, प्रेमी र प्रेयसीहरू भक्कानिँदै
अङ्कमाल गरिरहेछन्, छाती टाँसिरहेछन्
फर्किरहेका काठका बाकस देखेर तर्सिँदै, फेरि तङ्ग्रिदै
निष्पट्ट र कहालीलाग्दो भविष्यभित्र पनि
आशाको दीप जलाइरहेछन्
धिपधिपे उज्यालो खोजिरहेछन्।

….

तर यता,
लाजको वस्त्र ढाक्न नसकी सर्वाङ्ग बनेका बुख्याँचाहरू
घुम्ने मेचमाथि बसेर अट्टहासको खित्का छोडिरहेछन्
अनि डुक्रिरहेछन्, उग्राइरहेछन्, देश छोडेर जाने तिनै नवयुवाका श्रम र पसिना चुसेर
अनि उदेकको प्रहसनमा रमाइरहेछन् र खिल्ली उडाइरहेछन्
तिनैका योग्यता, मिहिनेत र पसिनाको
जो बस्न नसकेर, बाँच्न नसकेर आफ्नै भूमिमा
खेदिइरहेछन् दिनका दिन उसैगरी
छटपटिएर, आत्तिएर र निस्सासिएर
मुस्लो कालो धुवामा
जो निस्किरहेछ पुत्पुताएर
तिनैको आशा र सपना जलेर
अनि त्यही मुस्लोमा पेट्रोल थपिरहेछन् बुख्याँचाहरू
घृणित प्रहसनको जर्किन बोकेर ।