चुहिनै लागेको छानो टाल्न
समुद्रपारिको देशमा ओतो खोज्न
गएको एउटा मान्छे तिमी

अभावले कक्रक्क
जमेका छन् जिम्मेवारीहरू
पगाल्न सूर्यको देशमा एक टुक्रो
न्यानो घाम रोज्न
गएको एउटा मान्छे तिमी

तामाका मुना जस्ता
कलिला छन् बालबच्चा
सुन्दर भविष्य कोर्ने रङहरू बनाउन
आफैँ आगोमा पिल्सिएर
अञ्जुलीभरि भर्भराउँदो कोइला
बोकिरहेको एउटा मान्छे तिमी

बुढी आमैको आङबाट पस्ने
हिउँदे सिरेटो छेक्ने
चोली बुन्न बादलपारिको देशमा
बादलजस्तै सेता कपास टिप्न
गएको एउटा मान्छे तिमी

भाँचिनै लागेको छ
वृद्ध बाबुको वैशाखी
सहारा औषधिकै छ अब
अस्ताउन लागेको घामलाई
औषधिउपचार तलास्न
बालुवाको तप्तपाउँदो थुप्रोसँग पौठाजोरी
गरिरहेको एउटा मान्छे तिमी

परिश्रम र पसिनाको चिसो सागरमा
कठाङ्ग्रिएर निस्सासिएर
श्रीमतीलाई ओभानो जिन्दगी
दिइरहेको एउटा मान्छे तिमी

घरभरि सबैको आवश्यकता
रहर, इच्छा अनि सपना
साकार पार्न आफ्ना
हरेक रहर अनि सपना
आफ्नै हातले निमोठेर
मारिरहेको एउटा मान्छे तिमी ।