एकपटक आकाशमा हेर
त्यो ब्रह्माण्डमासम्म देख्ने कस्ले बनायो

आज आफूलाई पनि हेर
तिम्रो मान पद प्रतिष्ठामा कस्ले पुर्यायो

एउटै सर्ट र जुत्ता फटालेर
तिम्रो भविष्यको गोरेटो कस्ले कोर्दियो
आज त यहाँ सुशासनका कुरा हुन्छन्

लोकतान्त्रिक कुरा हुन्छन्
तिमीलाई प्रश्न गर्न सक्ने कस्ले बनाइदियो

तिम्रो बाबुनानीले आज पनि कापी कलम छुटाएर आउँछन्

हिजोका जस्तै नाकभरि सिँगान र रुञ्चे मुहार लिएर
स्कुल आउँछन्
त्यो मुस्कान अहिले मुखभरि कस्ले भरिदियो

छुवाछूत बोक्सी दाइजो हटाउन भन्दै
सन्देशमूलक व्यवहार कस्ले सिकाइदियो

हो, तर आज सबै भुलेर होच्याउँदै छौ
फाटेको जुत्ता गलेको शरीर
र, दुःखको त्यो मलिन अनुहार शिक्षकको हेरेर तिमी खुसी बस्छौ ?

तिम्रा हरेक पुस्ताको भविष्य तिनै शिक्षकको हातमा छ
भने तिमी आजै किन खुट्टा कमाउँछौ
जो तिम्रो सन्तानको भविष्यदाता हो
उसैको भविष्य अन्धकार भएको
असुरक्षित भएको
प्रश्नैप्रश्न भएको मलिन अनुहार
हेरिराख्छौ?
बोल, अब यत्ति भावना मनमा साक्षी राखी
जस्ले तिम्रो नाकको सिँगान पुछ्ने
देखि राष्ट्रको भविष्य निर्मातासम्म निर्माण गर्न
जीवन आहुति दिएको छ
उसैलाई भाँचिन लागेको खम्बाजस्तो

घर बनाउन चाहन्छौ
एक पटक आफैँलाई
आफ्नै आत्मा साक्षी राखेर प्रश्न गर
के शिक्षकहरूको पेशागत सुरक्षा हकहितमा
तिमी पनि बोल्नु पर्दैन?

विद्यार्थीले पनि बुझ अभिवावक पनि बुझ
सरकार पनि बुझ
म मेरो लागि मात्रै हैन
सबैको हितको लागि लडेको हुँ

म मैन हुँ, तिमी अँध्यारो हौ
म तिमीलाई उज्यालो देखाउन म बत्ती हुनुपर्छ
म मैनबत्ती बन्न मसँगै धागोको रुपमा सरकार हुनुपर्छ
मलाई जुझारु गराउन आगोको रुपमा अभिभावक हुनुपर्छ
र म जल्न तयार हुनुपर्छ
म उज्यालो दिन तयार हुनुपर्छ
अनि म एक्लै सडकमा तिम्रो भविष्यको खोजीमा
टहलेको छु तिम्ले मेरो फाटेको जुत्ता हेरौँ र आँखा सन्कायौ
म फाटेकै मन लिएर यतिका वर्षसम्म
तिम्रो बुबाआमाको सपना सिलाइरहेँ
आज म यत्ति फाटेको छु
म आफ्नो अस्मिता जोगाउन
आफूलाई लिएर मलम लिन आएको छु
सरकार तिमीले दिएको आश्वासन जुटाउन
म सडक आएको छु
न तिमी भेट हुन्छौ, न ढोका खुल्छ
सरकार म आएको छु ।