बा आमासाथ नहुँदा हिजो
त्यो खेत बाँझो थियो उराठलाग्दो थियो
त्यहाँ जून चम्किएको थिएन
फुलेका थिएनन् सुगन्धित फूलहरू
मयूरका बथानले नाचेका थिएनन्
नफलेका थिए ऐसेलु र काफलहरू
सुनिएको थिएन लटरम्म बालीहरूको सुसाई
देखिएको थिएन पुलकित लहलह बालाहरू
हिजोसम्म त्यो खेत अहङ्कारको भोकमरीमा बन्द थियो
घृणाको बादलले खेतको पाउलाई बेरेर सल्की रहेको थियो
समय आज फेरियो‑ बा आमा साथ छन्
त्यही खेत आज
आमाको पसिनाले ओसिलो भएको छ
बाको सपना त्यहीँ जोतिएको छ
रोपार र बाउसेहरू बा आमाकै रहर भएका छन्
पानी कलकल बगेको छ, मिहिनेत बाको सपना मेरो कोरी रहेछ
माटोको सुगन्ध, सुनौलो रङले आमाको नङ्ग्रा ख्याइ देखाई रहेछ
अब भोकले कतै कुद्‍नु पर्ने छैन
खानको लागि भीख माग्नु पर्ने छैन
कटौरा बोकेर यताउता दगुर्नु पर्ने छैन
शून्य रहने रङ्गमञ्चमा मेरो बेजोड प्रस्तुति भयो
खेत त्यही हो बाली त्यही हो
बलवान समय हो, बा आमाको साथ हो
हिजो बा र आमा कोसौँ टाढा थिए याद भन्दा टाढा
आज बा आमा साथ छन्, फरक यत्ति हो
अब त्यो तल खेतमा मिहिनेतको सुन फल्ने छ
अरुका लागि
अब त्यो तल खेतमा बाआमाको मायाको जून फल्ने छ
मेरो लागि।

सिद्धिचरण नगरपालिका-२ ठूलाछाप निशंखे,
ओखलढुङ्गा