आमा, सोच्थ्यौ होला
छोरो ठूलो भएपछि बनाउनेछ
सुन्दर घर र मनमोहक बगैंचा
तर छोरो त भावनाका भूकम्पले भत्काएको
उसको मनलाई टालिरहेको छ
बारिरहेको छ आफ्ना कुन्ठाहरूलाई
खरको छानोले, माटाको गार्होले
कल्पेकी थ्यौ होला
सुखरुपी आभास र भाग्यरुपी विलास
तर एकथान सपना बोकेर शहर पसेको छोरो
सपनामै झस्किरहेछ
आमा, सोच्थ्यौ होला
छोरो ठूलो भएपछि पैसा कमाउनेछ
आफन्तको हेपाई कम हुनेछ
समाजको मिचाई कम हुनेछ
तर छोरो त परिवारलाई गुलाफ दिलाउन
कयौं काँडाहरूको घोचाई सहिरहेको छ
लाग्दथ्यो होला तिमीलाई
छोरो एकदम अब्बल छ, उत्कृष्ट छ
तर छोरो त आफैँसँग लडिरहेको छ
अँध्यारोमा आँसु खसाई संसार सामु
झुठो हाँसो हाँसिरहेको छ
अथक प्रयास गर्दा पनि हारिरहेको छ
परिवारलाई सुख दिलाउने उद्देश्य बोकेर हरदम आफूलाई मारिरहेको छ ।
काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला