बुर्ज खलिफा !
तिमीभित्र खोतल्नु छ कविता

कतै लाभा जस्तै यो लुकिएको हुनसक्छ
यो गगनचुम्बी महलको
बाहुबली खम्बाहरुभित्र
चमकदार सिसाका झ्यालहरूभित्र
प्रत्येक उचाइका गजुरहरुभित्र

अथवा ,यो कतै छेउकुना परेको हुनसक्छ
सपिङ मलभित्र /रेष्टुराँभित्र
म्युजियमभित्र /लिफ्टभित्र
जल -चिडियाघर परिसर’भित्र /दुवई फाउन्टेन परिसरभित्र
अटेसमटेस अनुहारहरूमा
खचाखच सामानहरूमा

म यकिन छु
तिमीलाई उभ्याउनेहरूले
आफ्नो पसिनाको दमदार कविता
आफ्नो जीवनको दिलदार कविता
आफ्नो उत्सर्गको धुँवाधार कविता
जरूर तिमीलाई
सुम्पेर गएको हुनुपर्छ

प्रत्येक दिन
हजारौं पाहुनाहरूले आफ्ना
आँखाले लेखेको कविता
स्पर्शले कुंडेको कविता
हृदयले उमारेको कविता
थप छोडेर गएको हुनुपर्छ

हो ,यी सबै कविता बटुल्न
त्यो सर्वोच्च टाकुराको गाउँदेखि
यो सर्वोच्च टावरको ठाउँसम
दूरी नाप्दै आएको हुँ म पनि

यतिखेर यो उचाईमा
धित मर्ने गरी आत्मालाप गरिरहेछु
खुल्ला हावासंगको
खुल्ला आकाशसंगको
उन्मुक्त सामीप्यतामा

वरिपरि नियालीरहेछु
गगनचुम्बी बस्ती र सुक्खा मरुभूमि
अनि शान्त अरब सागर

र तल देखिरहेछु
पुतली झैँ साना मान्छेहरूको भीड
खेलौना झैँ साना गाडीहरूको भीड

उफ !
बुर्ज खलिफा जस्तै
म भित्र अग्लिरहेको आकांक्षाको तल्लामा
कतै अरुलाई सानो देख्ने रहर पो
पलाइरहेको छ कि ?