छवाङ्गहरूलाई
छक्क बहादुर बनाउने
गुरुजीहरूका तर्फबाट
कुङ्गाहरूलाई
कुमार बनाउने
सिडियोसापहरूको तर्फबाट
डोल्माहरूलाई
डोलमाया बनाउने
सचिवज्यूहरूको तर्फबाट

मान्छे मान्छेबीच
छुवाछुत चलाउने
पापी धर्मगुरूहरूको तर्फबाट
छाउपडीमा छोरी बुहारी
बस्न बाध्य बनाउने
धामी डाँङ्ग्रेहरूको तर्फबाट
बालखलाई कलिलैमा
बिहेदान गरिदिने
क्रुर बा-आमाहरुको तर्फबाट

मधेसका नेपालीहरूलाई
ओ भैया भनेर बोलाउने
फेक राष्ट्रवादीहरूको तर्फबाट
दुर्गममा जागिर लिएर
अस्पतालसम्म नपुग्ने
डाक्टर सापहरूको तर्फबाट
शिक्षक जागीर खाएर
स्कुल नै नआउने
मास्टर सापहरूको तर्फबाट

आफ्नै मात्र वर्चश्व
हुन र जोगिन पर्छ भन्ने
वर्चश्ववादीहरूको तर्फबाट
अपराधको चुलीमाथि
आफूलाई महान् देख्ने
अपराधीहरूको तर्फबाट
आनाको तनाखा खाएर
मानाको गाँस निल्ने
ठूला-सानाहरूको तर्फबाट

सबै शासक नश्लहरूको तर्फबाट
सबै प्रशासक वर्गहरूको तर्फबाट
व्यवहार र दुर्व्यवहार सबैका लागि
यो जैसीबाहुनको नम्र क्षमा याचना ।🙏🏻