भो,
हिँड्दिन म
बनिसकेका बाटाहरूमा
अपमानको भारी बोकेर
मातृभूमिको ऋणले थिचिएर
के हिँड्नु ?
बरु फोका उठेका यी पैतालाहरूमा
नेल ठोकिदिन्छु
भो,
लेख्दिन म
जहर पिएको साँझ
बसेर आफ्नै चिहानमा
राख्दै पुर्पुरोमा हात
जल्लादहरूको मनोमानी हेरेर
के लेख्नु ?
बरु पट्यारिला यी दिनहरूमा
फुलस्टप लगाइदिन्छु
भो,
बस्दिन म
घाम नझुल्केको बिहान
मान्छे झुल्कने आशामा
टुलुटुलु टोलाउँदै
असुरहरुको रजाईं हेरेर
के बस्नु ?
बरु आफ्नै बसेरामा
ज्वाला झोसिदिन्छु
प्रिय मातृभूमि
मेरा बा जस्ता कयौं बाहरूले
दुःख भुक्तान गरिरहेको यो कठिन समयमा
म किन बसुँ, हिडुँ र लेखुँ
झूठो विचारको फेहरिस्त
भो अति भो
बरु
घरेलु बगैंचामा टहल्दै
एउटा फुलको बास्ना हृदयभरि लिँदै
त्यही भुक्लुक्कै ढलिदिन्छु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला