तिमी फूल हौ प्रिय
तिमी फूल भएरै फुल्नुपर्छ
ढकमक्क फुल्नुपर्छ
खुलेर फुल्नुपर्छ
मुस्कान भरेर फुल्नुपर्छ
जसरी होस
जे होस्
तिमी फुल्नुपर्छ

तिमी अरुको निम्ति होइनौ
तिमी मेरो हुनुपर्छ
मेरो साथमा हुनुपर्छ
मेरो काखमा रम्नुपर्छ
हरेक क्षण
हरेक पल
मैले स्पर्श पाउनुपर्छ
मैले चुम्नुपर्छ
हरेक अङ्ग अङ्ग तिम्रा
मेरो निम्ति हुनुपर्छ
मेरो निम्ति जिउनुपर्छ
निमोठेर बोटबाट
टिपेर खेलाउन
ती सुन्दर फूलका थुँगाहरू
मेरै हत्केलाले पाउनुपर्छ
मेरो भोक मेट्नुपर्छ
मेरो तृष्णा मेट्नुपर्छ
उन्मत्त रहरहरू यस्तै
भन्दिनँ म
मेरो जवानीमा सायद कहिल्यै आएन

भन्दिनँ म
तिमी मेरै बगैँचामा फुल्नुपर्छ
भन्दिनँ म
तिमी मेरो आँगनलाई सुवास दिनुपर्छ
तिमी फुल्नुपर्छ त्यहाँ
जहाँ फुल्दा तिम्रो
सुन्दरताले पूर्णता पाउँछ
सुवासले धर्ती मगमगाउँछ
आभासले आत्मा जगमगाउँछ
जहाँ तिमी हुनुको अर्थ हुन्छ
जहाँ तिम्रो अस्तित्वको मूल्य हुन्छ
मेटिनु हुन्न जहाँ
तिम्रो सौन्दर्य
तिम्रो सुवास
तिमी फूल हुनुको आभास
जहाँ सबैका निम्ति प्रिय हुन्छौ
जहाँ सबैका निम्ति अमूल्य हुन्छौ
हो त्यहीँ फुल्नु पर्छ
मेरो हुँदा तिमी फूल रहन्नौ भने
तिमी मेरो नहुनुपर्छ
मेरो नभएरै भए पनि फुल्नुपर्छ
टाढा रहेरै भए पनि फुल्नुपर्छ
फूल भएर जहाँ फुल्न सक्छौ
तिमी त्यहीँ फुल्नु पर्छ
तिमी फूल हौ प्रिय
तिमी फूल भएरै फुल्नु पर्छ ।