के गाडी चढ्छन्
आँगनमा पजेरो भएकाहरू ?
तिनमा भन्दा मसँग
गाडी चढ्ने अनुभव छ
साँझमा हतार्रिँदै
सिङ्गो सहर सडकमा उत्रेको बेला
घरको तातो भात भेट्न
चिसो सडकमा
रात छिप्पिउन्जेल हात उठाइन्छ
र पनि गाडी चढिन्छ
के गाडी चढ्छन्
आँगनमा पजेरो भएकाहरू ?
तिनमा भन्दा मसँग
गाडी चढ्ने अनुभव छ
एउटाले छोडेपछि अर्को पक्रेर
चढ्न नपाउँदा पनि घुस्रेर
भित्तामा लौकोजसरी पनि झुण्डिइन्छ
छानोमा फर्सीजसरी पनि अल्झिइन्छ
पेल्नेहरू पेल्छन्
ठेल्नेहरू ठेल्छन्
मुलाजसरी चढेर सिन्कीजसरी झरिन्छ
हेर्नुहोस् यसरी पनि गाडी चढिन्छ
के गाडी चढ्छन्
आँगनमा पजेरो भएकाहरू ?
तिनमा भन्दा मसँग
गाडी चढ्ने अनुभव छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ मंसिर २०८२, सोमबार 





