फूल आफैँ हिँडेर, आफ्नो पूर्ण इच्छाबाट
आएकी हैन, त्यो तिखो काँडाघारीसम्म
उसलाई थाहासम्म हुँदैन, बाहिरबाट
यति सुन्दर रंगीचंगी फूलकै
आड लिएर यति तिखा काँडा आफ्नो
स्वरुप छिपाएर लुकिरहेछन्

लुक्न पाउनु ती काँडाहरूका इच्छा होलान्
हुन पनि सक्छन् तर बिना संकोच
बगैंचामा सजाउन भनी आश्वासन दिएर ल्याइएका
फूललाई नयाँ कोमल र अबोध देखेर घोच्न पाउँदैनन्

बर्सेनि सयौँ शरद र वर्षामाझ लडाइँ गर्दै
आफ्नो उमेर जितेर आएको त्यो परिपक्व काँडासँग
पैंठेजोरी खेल्न त्यो नवआगन्तुकले कसरी सक्छे
उस्लाई पनि त घाम, पानी, असिना अनि तुसारोका
चोटहरूसँग जुधेर दरिलो फूल बन्नु छ
एक तमासले वर्षौंअघि जन्मेका उमेरदार
काँडाहरू एकै पटक फूलको परीक्षा लिन
मैदानमा उत्रनु त युद्धको नियम भन्दा नि
विपरीत भएन र ??

फूललाई त सुन्दर बगैंचामा फुलाउने आश्वासन दिई
ल्याइएको थियो
तर यो शून्यभावका बगैंचाले एकैपटक लिइने
अग्निपरीक्षा कसरी दिन सक्ली त्यो नव
आगन्तुक एउटा फूलले !

हे आफूलाई कल्पवृक्ष सम्झनेहरू
केही समय पर्ख
भर्खरै त उसको जरा सहितको
अस्तित्व चुँडिएको छ
स्वार्थ र ईर्ष्या भरिएको परीक्षाभन्दा पहिले
प्रकृतिको पीडाबाट पाठ सिक्न दिएर
परिपक्व हुन त्यो फूलले समय पाउनु
उस्को नैसर्गिक अधिकार होइन र ?

अनि वर्षौंवर्षका असिना, घाम, पानीका चोटहरू
फूलका पत्रपत्रले सहन गर्न तयार हुनेछन् तिम्रा
फरक परिवेशका नियमहरू
उस्ले बिर्सन सिक्नेछ आफ्नो विगतका
मातृवात्सल्यहरू
उस्ले रण मैदानमा, उभिन मजबुत बनाउनेछ
आफ्नै डाँठहरू
अनि बल्ल बगैंचाभरिका काँडाहरू मिली
जोरी खोज्न आउनू

तब उसलाई गुनासो रहने छैन
प्रेमिल जोडीमार्फत टिपिएका उस्का कोपिलाप्रति
मानवद्वारा अनाहकमै चुँडिनुप्रति
मन्दिरमा प्रसाद बनेर चडाइनुप्रति
शवमा माला बनी श्रद्धित हुनुप्रति
किनकि उस्का जरा र नयाँ कान्डहरूले जमिनमुनि
अस्तित्व खोजिसकेका छन्
त्यसैले आज फूल मौन छे
अब छैन उस्लाई काँडासँग पनि गुनासो !
किनकि बिस्तारै ऊ अब भुइँमा झर्न र
माटोमा विलीन हुन तयार छे

अन्तिमपल्ट बेस्मरी हाँस्छे, फूल आफैँसँग
किनकि
आफ्ना वरिपरिकाहरू पुनः उही लडाईंमा पो
व्यस्त रहेछन् ।

सुशीला शर्मा