सहरका रणनीतिक चोकहरूमा
रङ्गीन धमकेदार विज्ञापनसहित
सुपरमार्केट सञ्चालनमा आएको छ
चोकमा चौतर्फी चाप परेको छ
मान्छेहरूको भिडभाड र चहलपहल बढेको छ
सुपरमार्केट एकाएक चलायमान भएको छ
र लोकप्रिय हुँदै गएको छ
उत्तरआधुनिक सुपरमार्केट
गल्लीका खुद्रा पसलहरू खस्काउँदै
फुटपाथमा तरकारीको किनबेच बन्द गराउँदै
अत्याधुनिक वस्तुहरू
आवश्यकताका सामग्रीहरू
विलासिताका सोखका सेवाहरू
नाफामा निरन्तर किनबेच गरिरहन्छ
र घाटैघाटाको आवाज गुनगुनाई रहन्छ
सहरको चल्तीको सुपरमार्केटमा
मान्छेको रहर सजाइएको छ
-याकको सजाइएका सामानहरुमा
मान्छेका इच्छाहरु झुण्ड्याइएको छ
ह्याङ्गर झुण्डाइएका कपडाहरूमा
मान्छेलाई आकर्षण गरिएको छ
चिल्ला टायलमाथि ठड्याइएको
आकर्षण सजावटका सामगीहरूमा
जहाँ उडिरहेछन् क्षितिज छिचोल्न मान्छेका खुसीहरू
रोइरहेछन् चमत्कार सुपरमार्केट सुखहरू
र, हाँसिरहेछन् गाउँका हाटबजार रित्तिँदै दुःखहरू
सुपरमार्केटले प्रत्येक हप्ता
नयाँ-नयाँ स्किम दिन्छ बाँड्छ
दैनिक उपभोगका सामानहरूको
मोडल परिवर्तन गर्छ
जसरी जीवनभर सेल्स ब्वाईहरू
आफ्नै भाग्यको किनबेच गर्दै
फेरि रहन्छन् सुपरमार्केटहरू पारिश्रमिक खोज्दै
र सेल्स गर्लहरू भौँतारिइरहन्छन्
जीवनको सुपरमार्केटको मूल्य खोज्दै
शहरका बासिन्दाहरूको जीवनशैली
सुपरमार्केटको रङझैँ बदलिएको छ
ग्राहकहरू लोभको सुपरमार्केटमा फँसेका छन्
चोकको सुपरमार्केटमा
साँझपख निस्किन्छन्
सपिङमा सेलिब्रेटीहरू
हुल बाँधेर शहरका बासिन्दाहरू
सुपरमार्केटकै कफी सपमा
सुपरमार्केट कफीका सौखिनहरू
सुपरमार्केटका पारखीहरू
जहाँ थरीथरीका गुलाबका फूलमा
प्रेमको किनबेच चलेको छ
वस्तु र सेवाको विविधिकरणमा
कृत्रिम खुसीको किनबेच चलेको छ
बजारवादको सुरुङ छिरेको सहरमा
सुपरमार्केट संस्कृति चर्कंदो छ ।
लिखु, तामाकोशी-२, रामेछाप
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।