एक बटुको भोक लिएर
एक सरो नाङ्गो ज्यान लिएर
झाडा पखालाले थलिएको कर्णाली बोकी
थानकोटबाट चियाई रहेछु
खै कता परेछ नेपाल ?

पत्र उप्केको सडकले
ख्याउटे अनुहार लगाएर
चोर औँलाले देखाई रहेछ
बाजे ! (जहाँ जन्मिदै बाजे भएर जन्मिन्छन्)
ऊ त्यो सिंहदरबार
नारायणहिटी त शितलनिवास र बालुवाटारमा सरेको छ
कता जाने ? कतार, मलेसिया या साउदी अरब ?

हो, ऊ त्यो बाहिर जान पिलेन चढ्ने
अन्तर्राष्ट्रिय यारपोट
जहाँबाट कयौँ सपनाहरू पिलेन चढ्छन्
र सपनै भएर हराउँछन्
हो, यही हो नेपाल
बाजे !
तपाईँले बोकेको भन्दा दुधालु कर्णाली त
ऊ त्यो एनजिओको गोठमा बाँधिएको छ
अब भरे फेरि दुहिन्छ रे अन्तर्राष्ट्रिय डेरी उद्योग चलाउन

म पनि सोच्न बाध्य भएको छु
कता उडाउने
कर्णालीको वहावले थेग्न नसकेका मेरा सपनाहरू ।