पर्खन यसरी पनि सकिन्छ
जस्तो कुनै आमाले स्कुलबाट फर्कने आफ्नो सन्तान पर्खेकी हुन्छे
सम्झन यसरी पनि सकिन्छ
जस्तो साहुलाई तिर्नुपर्ने सावाँ ब्याजको हिसाब होस्
बिर्सन यसरी पनि सकिन्छ
जस्तो हामीले बिर्सन्छौँ कुनै दिन हामीलाई मर्नु पनि छ
समर्पण यसरी पनि गर्न सकिन्छ
जस्तो कि माकुराले आफ्नो सन्तानका लागि जीवन सुम्पिन्छ
मृत्यु यसरी पनि हुन सक्छ
जस्तो किताबभित्र निसास्सिएर गुलाफ मर्छ

यसप्रकार हामी
कयौं टुक्रामा विभाजित भएर पनि
जीवन बाँच्न सक्छौँ
यदि , मलाई खोज्न चाह्यौ भने
तिमीले यिनै टुक्राहरूमा खोज्नू
मलाई त्यतैकतै भेट्ने छौ ।

जैमनी १०, बाग्लुङ
हालः नदिपुर, पोखरा