कविहरू-
कविता खान्छन्, कविता पिउँछन्
र कविहरू, कवितै निदाउँछन्
अनि मर्छन् पनि कविहरू
देश अलापेर,राष्ट्रियता भजेर, भोकभोकै…
भालेको पहिलो डाकभन्दा अगावै
ब्यूँझन्छन् कविहरू हरेक बिहान
आधुनिक तथा गुणस्तरीय टुथपेष्ट र ब्रसको हैसियतभन्दा
झन् सर्वसुलभ, सर्वव्यापी अझ भनौँ निःशुल्क
टिमुर,पात्ले र कदमको हाँगा दाँतभरि घोट्दै
प्याट्ट-प्याट्ट पार्दै लामखुट्टे र भुसुना
ट्वाइलेटको भाषामा पाइखानाको नित्य कर्म सिध्याउँछन् कविहरू
र, जन्माउँछन् एउटा गतिलो कविता !
देशको
गरिबीको
युद्धको
शान्तिको
शोषणको
आतंकको
प्रेमको
घृणाको
अनि जीवन-जगत र सिङ्गो ब्रह्माण्डको
कविता उधारो बेचेर, एक कप चिया र एक खिल्ली चुरोट
कविताकै ब्रेकफास्ट गर्छन्- शुभ प्रभातसँगै युग कविहरू
आदर्शका दस्तावेजहरू तेर्स्याउँदै
निभिसकेको चुरोटको ठुटो पुन: सल्काउँदै एस्ट्रेबाट
बिहान बिताउँछन् कविहरू
च्याँट्ठिदै होटलवाल्नी
टेबल, कुर्सी र समयको किराया माग्छे-
वाइयात कवि गफ…
बकम्फुसे बात…
बिजनेस डिस्टर्ब …
बाध्यताको निस्तो भात
कविताकै तरकारी, दाल र अचारसँग
निल्छन् र पुन: निस्कन्छन् देश दर्शनमा कविहरू
यतिखेर होटलवाल्नी होइन, घरवाल्नी गर्जिन्छे –
जोइटिङ्ग्रे
नामर्द
आवरा
लोफ़र
निकम्मा
बेगारी …
गोधुलीसँगै फेरि अर्को आशा बोकेर
उही होटल, उही टेबल अनि उही होटलवाल्नी
फेरि एक पटक जम्छन् हल्का धमिलो र नीलो रात बीचमा
पुन: अर्को सिर्जना फुराउन लबस्तरो भएर
लाचार कविताभित्रै –
प्रेम, त्याग र समर्पण जन्माउनको खातिर
आधुनिक-पप कविहरू
अलिकति इमान धरौटी राखेर
कविताकै सितनसँग एक प्याला कविता भर्छन्
र, कविताभित्रकै सुन्दरीहरूसँग
प्रेम गर्छन्, आलिङ्गनमा बाँधिन्छन्
र, गर्छन् मनमैथुन पनि
कविताको सम्मोहनमा लट्ठिएका बेसुरा आशुकविहरू
कविताको भूत सवार भएका कविहरू
कविता बर्बराउँदै कविताकै खातमाथि पल्टन्छन्
दुःस्वप्न बनेर कविता ऐठन पार्छन् रातभरि कविहरूलाई
नीलाम्य रातका डङ्किनीहरू
दुःस्वप्नका किचकन्याहरू
बोक्सीहरू
प्रेतात्माहरू
भूतहरू
राक्षसहरू
निमोठ्न आउँछन् कविहरूलाई
थिच्न आउँछन्
गाँज्न आउँछन्
र, गुम्स्याउँन आउँछन्
कविताको ह्याङ्गओभरले
रातभरि कविता बान्ता गर्दै कवितै गन्हाउँछन्
र, विषाक्त रातका अन्तिम प्रहरहरू छिचोल्दै
भारी टाउको जबर्जस्ती उठाउँछन् शताब्दी कविहरू
र, एक हातमा कलम समाउँछन्
फेरि अर्को गतिलो कविता फुराउन
अनि अर्को हातले पुन: समाउँछन् एक प्याला कविता
कविताको धङ्धङी मेटाउन ।
***
इटहरी – ४, सुनसरी
हाल: फ्रिगेट आइल्याण्ड, सेसेल्स
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।