
तारानाथ पराजुली
देवीतुल्य मुहारमा जब यिनी तेजाब बर्साउँछन्
यस्तो लाग्छ मनुष्यले भुवन नै थिच्छन् र चर्काउँछन् ।
भुल्दै मानवता , असभ्य युगले कात्रो लगाएपछि
के हेरौँ दुनिया , अजस्र जलले आँखा बगाएपछि ?? १
फुल्नासाथ विहङ्ग पुष्पहरुको घाँटी अँठ्याईरह्यो
पत्रैपत्र चुँडेर ध्वस्त गरिने के फूलबारी भयो ?
सुन्ने को छ विदीर्ण भै कलमको डाँको छुटेको दिन ?
निस्किन्नन् किन खै नृसिंह युगको ऐना फुटेको दिन ??२
तर्स्यो बादल , आँसुमा नभ डुब्यो, तारा डराए कति
रोईन् सृष्टि दुखेर , साथ नहुँदा तेजाबको ओखती ।
अन्धै अन्ध कराउँछन् तमसमा मुर्छा हुँदा चेतना
ढुङ्गातुल्य बनेर मानव रह्यो बुझ्दैन के वेदना ?? ३
बाटो छैन सुरम्य किन्तु युगका गाथा नबिर्से दिदी
आँफैभित्र अदम्य साहस छ त्यो, बैनी नबिर्से तिमी ।
मुठ्ठीभित्र थुनेर मिच्न कसले गर्दैछ उद्घोषण ?
जिब्रो च्यात , छिनाल पाउ , कर ती उत्रेर देवी गण ।।४
निस्के चण्ड र मुण्ड च्यात शिरका माला लगाई हिँड
काली! रक्त खिचेर दुष्टहरुका खोला बहाई हिँड ।
छ्याप्ने कोसिस बीष गर्दछ भने भाला चलाऊ तिमी
फक्रेका नवपुष्पका हृदयमा राँको जगाऊ तिमी ।। ५
छन्द : शार्दूलविक्रीडित
कवि: तारानाथ पराजुली
ठेगाना : विहादी २, पर्वत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

