तल्लो गाउँबाट आए, झिस्मिसेमा बटुवा
उनीहरू छुटे भने, सकिन्न हिँड्न एक्लै उकालो
अन्धकार नै छ
बाटो लामो पनि छ
अलि अलि उज्यालो मिसिएर
हिमाल पनि खुल्दैछ

पेटसँग सम्झौता भैसक्यो, लाग्दैन आज भोक
हिँड्न परे जति पनि सक्छु तर
हिँड्दा हिँड्दै चप्पल चुँडियो भने
लाग्नेछ ठूलो शोक

ठूलो मान्छे बन्नु छ, ज्ञानको ज्योति भर्नुछ
किताब कलम चाहिएमा
रित्तो खल्तीसँग मिलेर
विद्यार्थी जीवनको सम्झौता गर्नुछ

आकाश र धर्ती छन्
नजिकका पीर बुज्ने साथी
हिमाल पनि भनिरहन्छ
पुग्नु पर्छ एकदिन धेरै माथि

टाढाको स्कुल छ, हिँड्नु पर्छ धेरै
डाँडामाथि पुग्नलाई उठ्नुछ सबेरै
साथी मेरा किताब, कपी अनि कलम
माया गर्ने सबैलाई गर्छु सधैं सलाम

डाँडामाथि पुग्दा लाग्छ, संसार जितेजस्तो
सृष्टिको धराको त्यो अग्लो शिखर हुन्छ होला कस्तो !
मेरो गाउँको उकाली दुःखको निसान
कोसिस गर्छु, बनाउनेछु एक दिन आफ्नै पहिचान

सबै जना भन्नुहुन्छ पढ्नु धेरै नानी
गरिबीमै बित्छ कि के हो मेरो अमूल्य जीवनी
किन छैन सबैजना साथी माया गर्ने
खोज्दैछु कोही छ कि स्नेहले भर्ने

सरस्वतीको चरण पुगेपछि हाँस्छ मन मेरो
गुरु कृपाले नै बन्ने रैछ शिष्यको सेरोफेरो
मेहनत गर्न मान्नेछैन कैले अप्ठेरो
नाघ्ने छैन विपतमा पनि नैतिकताको घेरो ।