मलाई अचेल घर
घर जस्तो लाग्दैन
खण्डहर भग्नावशेष जस्तो
कता कता भत्किएको
भित्र भित्र दुखेको
फुङ्ग उडेको
मानौं, घरमा
आमाले बाँधेको पटुकाजस्तो
कमेरो माटो दलिएको छैन
बाको विश्वासजस्तो
दलिन र कोतलको भर छैन
दाजुभाइ र दिदीबहिनीको सम्बन्धजस्तो
कसिलो चार सुर छैन
अचेल गाउँका घरहरू
आमाले छोडेर हिँडेका बच्चाजस्ता
सातो हराएका छन्
धमिरो लागेका काठजस्तै छन्
अचेल घरको छानामा बसेर
ढुकुरको जोडीले प्रेमगीत गाउँदैन
आँगनमा पाठाहरूको छुनुमुनु भेटिदैन
अचेल बारीको डिलमा
आरुबखडा र आल्चा फुल्दैन
न भँगेरा चारो टिप्न आउँछन्
न घर वरिपरि कुकुर भुकेको सुनिन्छ
अचेल
आमाको छाला चाउरी परिसकेको छ
दाँतहरूको लहर भत्किएको छ
त्यसैले अचेल मलाई
घर, घरजस्तो लाग्दैन ।