ए समय, मलाई अलिकति समय देऊ न
एक पटक चुमेर फर्किनुछ त्यो मीठो बालापन
एक पटक झुमेर नाच्नुछ बालसखासँग
पाठीझैं बुर्कुसी मार्नुछ खेत र कान्लाहरूमा
बतासझैं सुसेल्नुछ ती बनपाखाहरूमा
डल्फिनझैं डुबुल्की मार्नुछ ती खोलाहरूमा
चिप्लेटी खेल्नुछ खोलाको डिलबाट

ए समय, मलाई अलिकति समय देऊ न
अझै पुगेको छैन् बाआमासँग लुटुपुट गर्न
पुगेको छैन् भाइबहिनीसँग चकचक गर्न
पुगको छैन् मेरा गाउँलेहरूको जन्ती जान
फेरि दालभातको स्वाद लिन मन छ टपरीमा
चाडबाडमा छिमेकीहरूसँग रमाउन पुगेको छैन
पुगेको छैन साथीसङ्गीसँग गोठालो जान

ए समय, मलाई अलिकति समय देऊ न
आमाले मोही पार्दापार्दैको नौनी खानुछ मलाई
आमासँगै घाँस काट्न जानु छ मलाई
बाको हातबाट जोत्दा–जोत्दैको हलो समात्नुछ
मह काट्न जानुछ साथीहरूसँग
त्यो हावा, वर्षात, हिलो, मैलो सबै महसुस गर्नुछ
एकपटक फर्केर जिउँन मन छ जिन्दगी

ए समय, मलाई अलिकति समय देऊ न
मलाई मेरी प्रेमिका भेट्न मन छ
ऊ मबाट टाढिनुको कारण सोध्नुछ
फेरि आफू पढेको स्कूल फर्किनुछ
अलि अलि नाच्न जानेको छु अचेल
फेरि बच्चा बनेर नाच्नुछ
कैंची स्टाइलमा साइकल चलाउनुछ
लय नमिलेर के भो त बिन्दास गीत गाउनुछ
ए समय, मलाई अलिकति समय देऊ न
म जहाँ थिएँ एक पटक त्यहीँ पुगेर आउनुछ ।