कागको बिन्ती
छाया फुल्ने जङ्गलमा
प्रकृति प्रेम !
चील आकाशमा उड्छ
स्वतन्त्रताको नाच
कमिलाहरू अघि बढ्छन्
आफ्नो उद्देश्यमा
सानो पाइलामा समूह कार्य
एक उदाहरण
फूलको पराग सेचनमा
खुसीले नाच्छ पुतली
प्रत्येक पाइलामा दक्षता
चितुवाको बिजुली गति
सुस्त गतिमा कछुवा
स्थिर प्रगति र दीर्घायु
कालो काग
चाखलाग्दा आँखाले
अवलोकन गरेर
सर्वेक्षण गरेर
प्रकृति रहस्य
का का का … को उच्च स्वरमा
बिन्ती गर्दै छ
आधुनिकताको उन्मादमा
आफ्नो सामर्थ्य गुमाइरहेको
आफ्नोसँगै सबै प्राणीको
अस्तित्व मेटाउन लागिरहेको
स्वघोषित सर्वश्रेष्ठ प्राणीलाई
स्वरूप मात्र भिन्न छैन
बाँचेको युग पनि भिन्न छ
हेराइ र बुझाइ पनि भिन्न छ
सहअस्तित्व र सहकार्यका लागि
हाम्रो साझा घरको सुरक्षाका लागि
अब सबैले
विचारशील आँखाले हेर्नुपर्छ
शान्त सौम्य गम्भीर भएर
उत्तर खोज्नुपर्छ
सेताम्मे भएर चम्कने हिमालहरू
हिजोआज किन हाँसिरहेका छैनन् ?
सुसाउँदै बग्ने खोलानालाहरू
अहिले किन मौन छन् ?
एक्लो जीवित ग्रहको हत्या गर्न
को किन कसरी हतारिएको छ ?
रातको अन्धकारमा
जूनकीरीको चमक
उज्यालोको मार्गदर्शन
जीवनको नरम आह्वान
कोमल धागो निकालेर
जाली बुन्छ माकुरो
धैर्यको पाठ
धरती बचाउन
जीवजनावरबाट सिकौँ गर्वसाथ
एक प्रतिज्ञा
सँगै अगाडि बढौँ
कागको बिन्ती !
∞∞∞∞∞