सम्पादक: यम रेग्मी
गण्डकी प्रदेश संयोजक:रमा खतिवडा
बाँच्नका निम्ति बाँच
अव्यग्र अस्मित
छन्द:मन्दाक्रान्ता
गण:म भ न त त गु गु
विश्राम: चार र दस अक्षरमा
आफ्नै यो जीवन पनि यहाँ हुन्न तिम्रो थुनामा
को बाल्देला चमक सुखको जिन्दगीको कुनामा
कोही मूर्दा पुनरपि मरी जान्छ आफ्नै मलामी
के भो नाफा प्रतिपल गरी जिन्दगीको लिलामी ।
१
बास्ना छर्दा सुमन चुँडियो वासको अर्थ के त?
आफ्नो बास्ना सुन प्रसव हो छर्नु आफ्ना निमित्त
जल्छन् ज्यूँदा सकल सपना हर्ष बन्छन् खरानी
घाँटी काटी भन न कसरी हाल्नु आफ्नै सिरानी ?
२
हत्केलाले भन न कसरी घामलाई निभायो
के हावाले हुरुहुरु चली शैललाई गिरायो ?
के सोच्लान् खै पलित दलले पल्लवीबाट झर्दा
बस्ला मूर्दा दिनहुँ किरिया आत्मको चेत मर्दा ।
३
कस्तो होला अरुण जसले चम्किनै बिर्सिएछ
कस्तो होला समय जसले दौडिँनै बिर्सिएछ
तारा ताक्ने रहर सपना मेघमा अल्झिएछन्
खुट्टा कोप्ने प्रखर सुइ ती चित्तमा बल्झिएछन् ।
४
झूटो हाँसो अब कति अझै ओठलाई दिनेछौ ?
ढोका खोली भन न कहिले आत्मलाई छुनेछौ ?
राख्दा राख्दा परिणत भयो जिन्दगीको दराज
लाखौँ मर्ने बिच अब तिमी बाँच्नका निम्ति बाँच ।
रामवाण
रामचन्द्र शर्मा
छन्द:अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व
झुट बोल्दैन ऐनाले ढाट्न जान्दैन बाँसुरी
सदा झुट गरे खेती हुन्छ आनन्द आसुरी।
१
साथ छाड्दै न रे छाया जिन्दगीका कुनै पल
गौडो कुरेर आघात पार्ने गर्दछ रे खल।
२
तिरैतिर नदी बग्छ आफ्नो बाटो समाउँदै
सेवा नै परमो धर्म भन्छ ज्ञानी रमाउँदै।
३
फल मैले दिदै दिन्न भन्न जान्दैन बोटले
सधैं दुःख दिने गर्छ स्वार्थ आसक्ति चोटले।
४
लर्बरिन्छ झुटो सान छेक्न सक्दैन इज्जत
सर्व ज्ञानी गुणी व्यक्ति हुन्छ सर्वत्र सम्मत।
५
सिसा के हो?नचिन्नेले हीरा व्यापार गर्दछ
देखे प्रगति अर्काको आफैलाई जलाउँछ।
६
छैन सोचेर बोलेको मन खाने गरी कुरा
लोकाचार जहाँ हुन्छ बढ्न सक्दैन आँकुरा।
७
विष खाऊ नजानेर खाऊ जानेर मार्दछ
छरौं बिज रुखो धर्ती टुसा अंकुर गर्दछ।
८
मान खोज्ने सबै मूर्ख गर्न जान्दैन आदर
घर भडाउने मास्ने मान्न सकिन्छ बाँदर।
९
रामवाण सदा सत्य सत्य हुन्छ निरन्तर
आगो बाले लुकाएर धुवाँ देखिन्छ आखिर।
१०
बा. न. पा. २, बागलुङ
शहीदको अपमान
छबिलाल आचार्य
छन्द:शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्ह अक्षरमा
राणातन्त्र ढल्यो, ढल्यो मुलुकमा पञ्चायती शासन
मिच्दै कानुन यी चढे शिखरमा डग्दैन खै आसन
गाडीबाट खसे बन्यो सहिद यी आँफै लडेता पनि
बन्दैनन् किन देश खाँतिर कुनै लड्दै ढलेता पनि ।
१
भुल्दैछन् किन हो ? उनै सहिदका विश्वासमा घात छ
सत्ता मोह बढ्यो निरीह जनमा उन्मादको लात छ
धेरैका सिउदो पुछेर टुहुरा वाला रुँदैछन् कतै
धोकेवाज कपूतका महलले तारा छुँदैछन् कतै ।
२
वाणी एक छ कर्म भिन्न पथको पारा हुँदैछन् कतै
सत्ता खाँतिर स्वाभिमानपन यी छाडा हुँदैछन् कतै
बैशाखी भरमा अझै थिरिथिरी खुट्टा कँपायौ किन ?
जिब्रो लट्पट हुन्छ आज किन हो ? बाटो खुलेका दिन
३
पर्थे सङ्कटमा तथापि मनमा उत्साह दब्दैनथ्यो
देहै त्याग्न परोस् कदापि मुटुमा नेपाल हट्दैनथ्यो
नाना स्वप्न लिए लडे समरमा छाती फुलाईकन
सारा ती वलिदान त्याग कति छन् ? बुझ्दैन स्वार्थी जन ।
४
मर्दै बाँच्दछ जो हटाइ सबमा बेहाल सञ्जाल यो
त्यस्तै वीर शहीदका रगतले सिञ्चिन्छ नेपाल यो
आत्माको चिर शान्त होस् सहिदको गर्छु म यो कामना
नेता हो ! यदि देश भक्त त भए लेऊ नयाँ भावना ।५
पोखरा १६ दिप , कास्की
भाेक मीठाे, बैँस राम्राे
गाेविन्दबहादुर कुँवर
छन्द: गीति कविता
भाेक मीठाे, बैँस राम्राे भन्नुहुन्थ्याे बाले
सूनले हैन गुनले हुन्छ मान्छे राम्राे खाले ।
१
ठेस लागे बुद्धि बढ्छ मामा भन्नुहुन्थ्याे
पानी हैन तीर्खा मिठाे आमा भन्नुहुन्थ्याे ।
२
दिदी भन्थिन् पढ्नै पर्छ नत्र हुन्छ धाेका
बन्द हुन्छन् उन्नतिका सबै झ्याल ढाेका ।
४
भिनाजुकाे अर्ति थियाे सधैँ अघि बढ्नू
माइजूकाे राय हुन्थ्याे जस्तै परे खट्नू ।
५
हजुरआमा भन्नुहुन्थ्याे गाेरस खाने गरेस्
हजुरबाले भन्नुहुन्थ्याे नखाएस् है हरेस ।
६
भाेटेओडार, लमजुङ
धराको माया
बालकुमार क्षेत्री “साइनो”
छन्द-भुजङ्गप्रयात
गण: य य य य
विश्राम: छैठौँ अक्षरमा
नजानी नजानी कहेँ मर्म मैले
नराखौँ मनैमा म सोच्दै छु ऐले
निकालूँ लुकेको छ पीडा मनैमा
कहीँ भूल मेरो नहोस् है कसैमा ।
१
गलायो जवानी सधैं शोक पारी
ढलायो उमेरै नदी पार तारी
लगाएर माला जगाएर आशा
खुसी छैन आत्मा छ बढ्दै निराशा।
२
दुखेको छ छाती बिचल्ली जवानी
छ भित्रै लुकेको दुखीको कहानी
भयो के मलाई पिरोलिन्छु राति
म भन्दैछु ऐले सबै यो नढाँटी।
४
छ माया बसेको पहाडी गरामा
छु फिर्दै म आमा म मेरै धरामा
भयो जिन्दगानी सधैंको अँधेरो
अनेकौँ छ बाधा परेको छ फेरो।
५
भयो प्रीत कस्तो छ पर्दै थलामा
मिलोस् साथ न्यानो छु यो अर्चनामा
छु ऐले म माग्दै दुबै हात जोडी
गरूँ नित्य सेवा धराको नछोडी ।
५
बितेको छ गाथा अझै सम्झनामा
रमेको छ आस्था झनै कल्पनामा
जलोस् प्रेमबत्ती,चुमी रम्य धर्ती
कहानी छ मेरो दिने दिव्य अर्ती।
६
पैँञ्यु गाउँपालिका-४ पर्वत
खै पौरखी पाखुरा ?
हरिप्रसाद घिमिरे
छन्द: अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व
भोका छन् घुसका भोका खानलाई चलाख छन्
आफ्नै मात्र भलो गर्ने नीच नीच दिमाग छन्
को छन र देशका निम्ति योगदान सुझाउने
पौरखी पाखुरा छैनन् देशलाई उठाउने ।
१
पूर्खाको पौरखी काम अपमान हुँदै गयो
सिमानामा हुने जो छन् दिन आयो रुँदै गयो
अर्काको भीख माग्ने छन् सत्तामा बस्न आउने
पौरखी पाखुरा छैनन् देशलाई उठाउने।
२
पृथ्वीका पौरखी मूर्ति आज ढाली जलाउँछन्
भाषा भेष सके सारा हत्या हिंसा फलाउँछन्
नेपाली जनता आज भ्रष्टका गीत गाउने
पौरखी पाखुरा छैनन् देशलाई उठाउने।
४
बेचियो देशको निम्ति उद्योगी पारियो थला
बाँझियो सबको जग्गा रेटियो मातृको गला
युवाका दल खै आज अर्काको देश धाउने
पौरखी पाखुरा छैनन् देशलाई उठाउने।
४
नागार्जुन न.पा.-३,इचङ्गु गोरखा
एक नाैलाै बिहानी
झलक अधिकारी
छन्द: शोभा
गण:य म न न त त गु गु
विश्राम :छ र तेह्र अक्षरमा
यिनै डाँडाकाँडा वन चहुरतिरै गीत गाई रमाऊँ
हिमाली पाखामा तरह तरहका लाेक भाका म गाऊँ
नदीनाला खाेला जल कल कलकाे शब्द सुन्दै म हासूँ
चखेवाकाे जस्तै हरदम रहने प्रेम नाता म गासूँ । १
शुभेच्छा हाे मेराे सबतिर हँसिलाे चेहरा देख्न पाऊँ
सदिच्छा याे मेराे हरबखत नयाँ भावना पाेख्न पाऊँ
परून् मूर्छा भागून् रिपु सब अहिले चाहना याे छ मेराे
फुलून् छर्दै बास्ना वन कुसुमहरू कामना हुन्छ मेराे ।२
स्वयम् जागे मात्रै मुलुकभर युवा देशले फेर्छ रूप
कसैले भन्दैनन् र पनि समयमै काँचुली फेर्छ सर्प
पुराना पुस्ताकाे अब त कति गराैँ आस मात्रै नराखाैँ
उठाैँ आफैँ लागाैँ प्रविधि पनि नयाँ देश भित्रै बनाऔँ ।३
बुढापाका जान्छन् वन विचरणमा काट्न बाँकी उमेर
नयाँ पुस्तालाई सहजसित दिई खास सल्लाह धेर
पुरानाले बाटाे अझ पनि नदिए देशलाई छ हानी
भयाे बेला जागाे अब त तरुण हाे लेख्न नाैलाे कहानी ।४
व्यवस्था जे आओस् नियत ठिक नभै हुन्न जे जे फलाकाैँ
सुधाराैँ यी नेता कि त अब खुद नै राष्ट्रका निम्ति लागाैँ
प्रतीक्षा गर्दैछौँ अब नव युगकाे लेख्न नाैलाे कहानी
उषाकाे लालीमा क्षितिज पर कुनै एक नाैलाै बिहानी ।५
तनहुँ
सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश -रमा खतिवडा
५. लुम्बिनी प्रदेश -स्वर्ण शिखा
६. कर्णाली प्रदेश -जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश-कपिलकिशोर घिमिरे
सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ
chhandamalasahityapost@gmail.com
३३ औं अङ्कमा लुम्बिनी प्रदेशका छन्द कविता रहने छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।