जति चोला पर्देशमा
सास फेरे पनि
मलाई नेपाली वायु नै
लाग्दोरहेछ सुगन्धित
पर्देशको दर्पणमा
आफ्नो मुखाकृतिलाई
जति सिँगारपटार गरे पनि
आफ्नो मुहारमा
नेपालीपन नै
झल्कने रहेछ
जति विदेशी लवजले
श्रव्यध्वनि गुन्जाए पनि
त्यहाँ मातामहीले बालापनमा
सुनाएका वर्ण विन्यासका
छनक आउँदो रहेछ
पर्देशी पाइला दिवामा
जतिसुकै लडे पनि
रात्रीमा मेरा पाइलाहरू
त्यही पाखो पँधेरामा
नै रमाउने रहेछ
यहाँ वृद्धहरू पनि
आफ्नो अन्तिम सास
मातृभूमिमै देहत्याग गर्ने
चरम आकांक्षा गर्दा रहेछन्
नर्सिङ घरको शय्यामा
यो जन्मथलोको दस्तखत
चिरकालसम्म
मस्तिष्कको कोषिकामा
नोटको चाँदी
सरी छापिएको हुँदोरहेछ
अनि पुकार गर्दछु
ईश्वरलाई सदैव
समाप्त होस् विहान सूर्य
उदाउने प्रक्रिया
तर जबर्जस्ती बिहानै मिर्मिरेमा
हुन्छ आत्माबाट मन अलगअलग
हुन्छ बिउँतिएको सदैव
पर्देशको विद्यमान पलामा
अनि हुँदोरहेछ भरङ
मेरो अन्तःकरण
जतिसुकै पर्देशको सुविस्तामा
हुर्केको मौरीलाई स्वदेश भमरा नै
रसिलो लाग्दोरहेछ
रुचि हुँदैन रहेछ चित्तलाई
पर्देशको फूलबारीमा
उडान भर्नलाई
रहेछ तपोभूमि
हाम्रो देश जहाँ संसारमा
दुःखबाट मुक्ति
दिलाउने औषधि
भएको थियो आविष्कार
बुद्धुमार्फत
जुन हजारौं नोबेल पुरस्कार
भन्दा बहुमूल्य रत्न रहेछ
राजा जनकले
सिकाएका थिए
राजकाज गर्दागर्दै
पनि आत्मज्ञान प्राप्तिको
किमती विद्या
यो धरामा पहिल्यै ।
बर्तुङ्, पाल्पा (हालः युके)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










