अक्षर सिक्दा सहारा दिने बेञ्च
डाक्टर, पाइलट, इन्जिनीयर
अनि लेखक, कलाकार, विद्वान
साहित्यकार बन्दासम्म साथ दिन्छ

अफ्सोच
त्यही बेञ्चमा बस्नेहरू
एकजना प्रहरी बन्छ त
अर्कोथरी चोर अनि बलात्कारी
कोही डाक्टर बन्छन् त
कोही दीर्घ रोगी
कोही सचिव बन्छन्
कोही खरीदार
अनि एक मन्त्री बन्छ त
अर्को उसकै कार्यकर्ता
एकथरी न्यायधिश बन्छन्
अर्कोथरि अपराधी

बेञ्च उही हो
लक्ष्य समान हो
तर त्यही बेञ्चमा बस्ने मान्छेहरू
असमान भइदिन्छन्
फरक भइदिन्छन्
जिन्दगीको गोरेटोमा
पहिचान बद्लिन्छन्
अनि,
बद्नामित बनाइदिन्छन् बेञ्चलाई

बिर्सन्छन् उसको योगदानलाई
श्रेणी विभाजन गरिदिन्छन् उसको
मान्छेलाई मान्छे बनाउन उसले
दुःख सहन्छ अनि पीडा
चोट सहन्छ अनि रोदन
सबथोक सहन्छ

पिठ्युँमा बोक्छ सन्तान झैँ
कहिले रुँदैन भारीले थाकेर
शान्त भएर बस्छ एकनास
मान्छेका भारीहरू बोक्दै
समानता हेर्छ उसले
हेर्दैन कहिल्यै जात अनि धर्म
लिङ्ग अनि वर्ण
हेर्दैन गरीब अनि धनी

अफ्सोच
त्यही बेञ्चमा बस्दै मान्छे
जात विभाजन गर्छ अनि धर्म
रङ बद्लिन्छ अनि वर्ण
गर्दछ असमानताका कुरा
अनि भूगोल छुट्याउँछ
बात गर्दछ पहिचानका
अनि उठाई रहन्छ औँला
ती निर्जीव बेन्चहरूलाई ।