आओ न हो, छिचिमिराहरू आओ !
साँझपख हावामा पङ्ख फहराउँदै रमाऔँ
आओ न हो, जुनकिरीहरू हो आओ !
रातको निष्पट्ट अँधेरीलाई उज्यालो छर्दै जगाऔँ

सुसेली हाल्दै वनपाखा, भीरमा घाँस दाउरा गर्नेहरू
विरही भाका हालेर देवी देउराली धाउँदै मेलापात भर्नेहरू
सल्लेरीमा तोक्माले ढाकर अड्याउँदै सुस्केरा हाल्नेहरू
पसिनाले निथ्रुक्क भिज्दै खोला किनारमा बालुवा चाल्नेहरू
असारे गीत गाउँदै बेँसी खेतमा हिलो छ्‌यापाछ्‌याप गर्नेहरू
दहीचिउरा, गुन्द्रुक सिन्कीको अचार सँगै चाम्रेले पेट भर्नेहरू

आओ न हो, हली, बाउसे रोपारहरू आओ !
बेँसी खेतमा मैजारोको बहार छर्दै घमाऔँ

चुथ्रो, काफल, किम्मु र ऐँसेलुको फल टिप्दै
लालीगुराँस, चाँप र चिलाउनेको बोटमा छिप्दै
अल्लारे बैँसका मीठा मिठा सुगन्ध छर्दै
खोला नाला अनि सात भन्ज्याङ तर्दै

आओ न हो, बैँसालु मनहरू हो आओ !
जुग जाने मिठो माया पिरती लगाऔँ

सुन्दर सपना सजाएर आसैआसले मुगलान पसेकाहरू
परिवारको जिम्मेवारी अनि साहुको ऋणमा फसेकाहरू
तातो घाममा रगत वान्ता गर्दै नारकीय जीवन काट्नेहरू
धनसँग रगत, पसिना, जवानी र सुन्दर सपना साट्नेहरू

आओ न हो, परदेशी मनहरू हो फर्केर आओ !
आफ्नै भूमिमा मिहेनत र पौरखको पसिना बगाऔँ

टिबी अल्सर र कुष्ठरोगले थलिएका रोगीहरू
मध्यरातमा घरघर पुगी फेरी लाउने जोगीहरू
पञ्चेबाजा, डम्फु, च्याब्रुङ र ढोलक बजाउनेहरू
मन्दिर, गुम्बा, देउरालीमा ध्वजापताका धजाउनेहरू

आओ न हो, गाइनेहरू लोक भाका गुञ्जाउँदै आओ !
धर्म, कला, संस्कृति, परम्परा अनि सभ्यता बचाऔँ

आओ न हो, कोइली, न्याउली, डाँफे, मुनालहरू आओ !
महफिलमा मधुरकण्ठले उल्लासका भाकाहरू सुनाऔँ ।

तेह्रथुम (हालः जापान)