मलाई आफ्नो टाउको
बगरेले मासु काट्ने अचानोझैँ लाग्छ
घरी एउटा विचारको धारले टुक्य्राउँछ
घरी अर्को दर्शनको तरबारले उछिट्याउँछ
प्रत्येक पटक खुकुरीको धारले
अचानोका चोइटा निस्कँदा
म आफ्नो टाउको छाम्छु
केश सुम्सुम्याउँछु
प्रत्येक पटक
उम्लेको पानीमा
खसीको टाउको हालेर
खुइल्याएको देखेपछि
मलाई
आफ्नो शिर नाङ्गै भएझैँ लाग्छ
अस्तित्व हराएझैँ लाग्छ
विद्वानको सभामा
आफूलाई पुङ्माङ लाग्छ
किन किन मलाई अचेल
आफ्नो टाउको अचानो लाग्छ
टाउकोमा जाँतो झुन्ड्याएर
समुद्रको गहिराइ नाप्ने
चेष्टा गर्छ मान्छे
बाँसको टुप्पोमा झड्कारिएर
सगरमाथा नाघ्न खोज्दो छ मान्छे
अनेकन चित्र विचित्रका
खबरहरुभित्र कति टुक्रिएर
कति चोइटिएर
थिलथिलो भएपछि
मलाई आफ्नो टाउको अचानो लाग्छ
आफन्तको कुराले टाउको चट्किन्छ
पराइको कुराले टाउको पड्किन्छ
कति भ्रान्तिहरु खुट्टा तान्न आउँछन्
कति क्रान्तिहरु ढाडमा टेकेर
टाउकोमा हान्न आउँछन्
हो भन्दा पनि यही टाउको हल्लिन्छ
होइन भन्दा पनि यही टाउको हल्लिन्छ
सबैको आँखाको तारो भएपछि
मलाई आफ्नो टाउको अचानो लाग्छ ।