(छन्द:- शार्दूलविक्रीडित )

प्यारा प्राणसमानका तिलकजी विद्वत्वका सागर
विद्या बुद्धि विवेकले गहकिला नैपुण्यका निक्खर
कैयौँ कालजयी कमाल कृतिले साहित्य पाऱ्यौ धनी
नेपाली दिलमा बस्यौ अडिग भै फैलाउँदै रोशनी~१

माया हुन् मनकी सफा हृदयकी आमा मिजासी अति
बाबा श्री छविलाल योग्य बहुतै संज्ञानमा सम्प्रति
आफू छौ अनमोलका अतुलका लट्ठ्याउने सौरभ
चाँडै नै परलोकको प्रिय भयौ हाम्रा थियौ गौरव~२

उम्दा उज्ज्वल रत्न हौ मुलुकका मीठा गऱ्यौ सिर्जना
सच्चा शिक्षक सारगर्भित हुँदै बाँड्यौ भलो भावना
सादा सन्त रमाइला र रसिला मान्छे म खोजूँ कहाँ
फर्किन्छौ प्रिय भन्छ यो हृदयले मुस्कान छर्दै यहाँ~३

खाऱ्यौ बेद पुराण धार्मिक कथा उल्था गऱ्यौ प्यारले
साह्रै हर्षविभोर पाठकहरू श्रद्धा सदाचारले
बाला वृद्ध युवा सबै नजरमा संपूज्य छौ हर्दम
तिम्रो वर्णनले कृतार्थ म भएँ आभार भो जीवन~४

धर्मात्मा धितका धरा धवलता साफल्यका साधना
तिम्रो कीर्ति रहन्छ लोकभरिमा ताजा सधैँ सम्झना
होला देश कृतघ्न भुल्दछ भने सत्कर्म तिम्रा सब
धिक्कार्ला इतिहासले पनि सधैँ लत्त्याउनेछन् जब ~५

पाऊ बस्न सुशान्तिले सुखदले हाँसेर बैकुण्ठमा
माला शुद्ध सुख्यातिका सफलका पैह्रेर सानन्दमा
छोड्यौ साथ समस्त विह्वल भयौँ खोजेर आकर्षण
गर्छौं आज सुभावनासहितको श्रद्धाञ्जली अर्पण~६

चन्द्रागिरि नगरपालिका-१३
पुरानो नैकाप,काठमाडौ ।
हाल: न्युयोर्क, अमेरिका
19 York Bay Trail
West HENRIETTA
NY14586