ए हिउँदेवी !
तिमी कस्की छोरी हौ ?
आजसम्म कहाँ थियौ ?
कस्तो खानपान
कस्तो समाज
कस्तो संगत
कस्तो परिवारमा थियौ
साह्रै मनमोहक बनेर
सिमलको भुवाझैं
भुरुरु उड्दै–उड्दै
नाच्दै नाच्दै जमिनमा आयौ ?
तिम्रो बारेमा
बेलाबखत कुरा नभएको होइन
कसैले हिमालको मुख्य गहना भन्थे
कसैले पवित्रताको पुञ्ज भन्थे
कसैले प्राकृतिक द्रव्य भन्थे
कसैले तिमी भएको ठाउँ
मनोरञ्जनको उत्कृष्ट स्थल ठान्थे
त कोही–कोहीले
अनिकाल र मुटुको घाउ
दुःखको सिरानी हो भन्थे
अब, म के भनुँ
तिमी नै भनिदेऊ
तिम्रो असली परिचय के हो ?
तिमी यो धर्तीमा झर्नु तिम्रो बाध्यता हो कि
आकाशमा टिकिरहन नसक्ने कमजोरी हो
या स्वरुप परिवर्तन गरेर फेरि फर्किनु, के हो ?
जे भए पनि तिमी आउनुमा
मानिसहरू खुब खुसी छन्
तिमीलाई मनलाग्दी खेलाएका छन्
कुल्चिए, चुँडाए, थिचे, मिचे, डल्लो, च्याप्टो
जे–जे गर्न मन लाग्छ
मनलागी गरेका छन्
र तिमीलाई बिगारेर हिँडेका छन्
तिमी यसलाई के सम्झिन्छौ हिउँदेवी
दुर्व्यवहार कि सम्मान ?
तिम्रो नृत्यमा
मानिसहरू खुसीले गद्गद् भइरहँदा
बिहान बाटोमा मलाई हेरिरहेको काग
बाटोमा चारो चिप्दै गरेको भँगेरा
फूलको रस चुस्दै गरेको पुतली
माकुरा, छेपारा लगायतका अन्य जीव
के गर्दै होलान्
खुला आकाशमुनि
बचेरा हुकाउँदै गरेका ढुकुरहरू
बचेरा छोपेर बस्लान् कि
ज्यान जोगाउन कतै ओत खोज्दै जालान्
बचेरा जोगाउँदा आफैँ मर्लान् कि
आगोको रापमा बाँचेकाहरू
आगो नै निभेपछि के बाँच्लान र !
के पो हुन्छ होला !
तिम्रो आगमन
प्राण हुनेलाई निकै गाह्रो पनि त छ
हिउँदेवी, यसका बारेमा केही सोचेकी छौ ?
जहाँ जे भए पनि
तिमी प्राकृतिक चक्र
मिलानका लागि आएकी हौ
चिसी तिमीलाई, न्यानो स्वागत है
हिउँदेवी !
हालः जापान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।