कता कता देखिने सपनाको सक्कलहरू
विगतको विपनाले अक्कल गर्न सकेन
सामुद्रिक आँधीले रेटेको कठोर किनारा
जुनीभरिको मित्रताले पनि मलिलो बन्न सकेन
निद्रा बिउँताउने निदरीका तरङ्गहरू
झरी र चट्याङको आवाजले सुन्न सकेन
न्यानो साथ र सजीवताको कल्पना
यथार्थको कृत्रिम हृदयले बुन्न सकेन
प्रकृतिको इच्छा र चाहनाहरू के थिए
हठी अधैर्य मनले पत्ता लाउनै मानेन
हतासियो अघि बढ्नु अज्ञानी जिन्दगी
शान्तिले सोचेर सम्हाल्न जान्दै जानेन
कहिलेकाहीँ फर्फर उडेर भाग्ने मनहरू
मित्रको मायाले खोई कता भनी खोज्न चाहेन
सुस्तरी बतासिएका मनका मिठासहरू
कोही पराइले कब्जा गरेको कतै पाएन
जहिलेदेखि संसार मिठो लाग्न लाग्यो
तिर्सनाका खुशीहरू पोल्टामा भरिएन
क्षितिज पारिका ती सुन्दर सेता बादलहरू
नजिकबाट स्पर्श गर्न कहिल्यै सकिएन
बादलबाट बर्सेका थोपा थोपा पानीहरू
गाग्रीको अभावमा त्यसै खेर गएको छ
अञ्जुलिहरूमा सँगाली ताल बनाउने रहरहरू
सहारा मरुभूमिको मृगतृष्णा भएको छ
हिमालझैँ टल्कने प्रफुल्ल उज्यालो मुस्कानहरू
आज निष्पट्ट अँध्यारो रातमा विलीन गएको छ
इन्द्रेणीका रङहरूझैँ मित्रताका माधुर्य मिलनहरू
आज धमिलो आकाशमा मलिन भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।