आशाको सपना भरेर मनमा त्यो प्रेम भै फकृयौ
चोखो स्वच्छ पवित्रता हृदयमा राखेर हाँसिदियौ
काँडाले जब चस्स घोच्छ दिलमा ऐया तिमी भन्दछौ
पीडाले जब पोल्छ यो हृदयमा हाँसो तिमी बन्दछौ !!१!!
तिम्रै त्यो दिलमा लुकेर भगवान् दिन्छन् सधैँ हिम्मत
प्यारो त्यो अनुहार कोर्न कविता कोसिस त्यो गर्दछ
सेतो स्वच्छ हिमाल झैँ अटलभै मेट्छौ तिमी वेदना
हाँसेको मनले सधैँभर तिमी गर्छन् अझै कल्पना !!२!!
पाङ्ग्रझैँ रथका चलाउन सकौँ यो जिन्दगी साथमा
पाऊँ साथ अझै सदा युगयुगौँ गर्दैछु यै प्राथना
आस्थाको पनि हौ धरोरहर तिमी हौ स्वच्छ त्यो प्रेरणा
माया त्यो ममता र प्रेम सबको छर्ने सधैँ वासना !!३!!
भैदिन्छौ कहिले वसन्त ऋतुझैँ आनन्दता ल्याउने
तिम्रो साथ सधैँ सधैँ भर यहाँ हो भाग्य त्यो पाउने
गर्दैनै नगरी घमण्ड कहिले विश्वास त्यो राख्दछौ
साँच्चै यो मननै तरङ्गित हुने हाँसो तिमी हाँस्दछौ !!४!!
फुल्छौ यो दिलमा गुलाफ जसरी भै प्रेमको वाटिका
सारा यी मन दङ्ग बन्दछ अहो देखेर त्यो स्वच्छता
साँच्चैनै यो जगत् सजाउने तिमी सत्कर्मकै मूल हौ
छर्ने यो मनमा सुवास र खुसी प्यारी तिमी फूल हौ !!५!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

