छोरो कक्षा चढेपछि
नयाँ किताब ल्याएँ
के–के रहेछ भनी यसो
पाना पल्टाएँ
त्यहाँ
अल्छेले खान पाउँदैन भनी लेख्या भेटेँ
तर यहाँ अल्छे नै अघाएर ढाडिएको
खै त लेखे यो किताबमा ?

त्यहाँ
निवेदन लेख्न सिकाए
संवोधन र विषय हाली
ल्याप्प टिकट टाँसेर
टक्र्याउन सिकाए
तर त्यो पानापछाडि
पैसा पनि टाँस्नुपर्छ भनी
खै त लेखे यो किताबमा ?

त्यहाँ
जंगलका सिंहहरूका कथा आए
गाउँका भ्यागुताहरूका कथा आए
तर शहरका बाँदरहरूको कथा
खै त लेखे यो किताबमा ?

त्यहाँ
वीरताका गाथा आए
बलिदानी कथा आए
अनि शहीद अमर हुन्छन् भनी पढाए
तर अहिले मार्दै शहीद गनिरहेको
खै त लेखे यो किताबमा ?

त्यहाँ
ज्ञानी हुन सिकाए
असल हुन सिकाए
अनि पढेर ठूलो बन्नुपर्छ भनी लेखे
तर आजसम्म यहाँ
नपढेकाहरू नै ठूला भएको
खै त लेखे यो किताबमा ?

शिवसताक्षी–८, झिलझिले, झापा