प्रिय मान्छे
म तिम्रो माली बन्न चाहन्छु
ताकि कलिलो हुँदा गोडमेल अनि
बुढेसकालमा खामा ठेसा दिन सकूँ
नकि भमरा, जुन रस रहुञ्जेल आउँछ
अनि चुसेर फरार हुन्छ

मलाई थाहा छ गुलाब मन पराएपछि
च्वास्स काँडाले घोचेको पनि
सहनु पर्छ
नारीको सौन्दर्य चाहेपछि
स्वतन्त्रता पनि चाहनु पर्छ
नट्खट् छ्यौ, लाग्छ द्वारिकाबाट
यशोदा नन्दनले मख्खन ल्याएर चटाइदिएका छन्
नरम हात अनि कोमल हृदय छ
सपनीमा भुत देखे विपनीमा तर्सिन्छेऊ
आज त्यो कोमल हृदयलाई
कहिले ठेस नपुर्‍याउने बाचा गरुम् मञ्जुर छ ?

आँखाको नानीमा राक्छु भन्नू
कि झुट हो कि कविताको हरफ मात्रै हो प्रिय
पञ्च पाण्डवले द्रोपदीलाई वस्त्रहरणबाट
बचाउन सकेनन्
बनबासमा
पुरुषोत्तम रामले सीताको रक्षा गर्न सकेनन्
महलमा राख्छु भन्न त सक्दिनँ
तर जहाँ राखे नि, मेरो काख तिम्रो सिरानी
तिम्रो आँखा मेरो खेल्ने आँगन
बनाउने बाचा गरौँ, मञ्जुर छ ?

तिमीलाई ‘नि लाग्दो हो है…
रजस्वलाले पीडा दिइरहँदा
कोही मलाई त्यस्तो स्पर्श देओस्
ताकि सबै पीडा बिलाएर जाओस्
तिमीले गर्भ बोकिरहँदा
आफ्नो काँधमा पुरै घर बोकोस्
प्रशव पीडामा छट्पटाई रहँदा
हात समाओस् र भनोस्
प्रिय, तिमी जननी हुँदै छौ
जननीझैँ धैर्य गर…
तिम्रा हरेक पीडामा पेन किलर बन्ने
बाचा गर्छु, मञ्जुर छ ?

फेरि एक पटक
माया गर्नुको अर्थ पाउनै पर्छ भन्ने होइन
अनि भाग्यमा नलेखिए ‘सि
चाहँदैमा हुन्न भन्ने कुरा
मझौला कोस्टभित्र कैफियतमा राख्दै
तिमी मलाई साह्रै प्यारो लाग्छ
अनि तिमीलाई मञ्जुर छ ?

दार्चुला