ए !

मेरो समय बदलियो

 

भविष्य, ऊ…पछाडि छुट्यो

भूत अगाडि छ

भित्ते पात्रोमा झुण्डिएर मरेको छ वर्तमान

पोहोर साल हो जस्तो लाग्छ‑

म तेइस पूरा भएर चौबिस लागेको

यो साल फेरि तेइस वर्षको भएछु

 

रातमा घाम उदाउँछन्

दिनभरि ग्रहण लाग्छ

नदीनाला पहाड चढ्छन्

कागले अशुभ बोल्छ

हावा निभ्छ

पानी बल्छ

आगो बग्छ

 

आँखामा पाप छ

बोलीमा श्राप छ

दिमागले मुटु चुस्छ

परेलाले आँशु पुस्छ

घुटुक्क थुक निल्छु

 

देउताले पाप गर्छन्

राजाहरू चोर्न हिँड्छन्

मन्दिरमा वेश्या छन्

संगीतमा सति चिच्याउँछिन्

 

म आँखा बन्द गर्छु

कालो चस्मा लगाउँछु

अन्धाको लौरो टेक्छु

अनि हिँड्छु, आफ्नो जन्मतिर ।