सडकभरि छरिएका
विवशतामा बिम्बहरूबाहेक
नाङ्गो कतै देखिँदैन
कंक्रिट छ शहर

शहर मस्त छ
तारे होटलमा
ल्याम्बर्गिनी कारमा
नाइट क्लब अनि बारमा
सडकमा सुत्नेलाई देख्दैन शहर
बाटोमा मुत्नेलाई देख्दैन शहर
सडकको सुगन्ध सुँघ्न नसकेर
मुख छोपेर हिँडेका
यात्रुलाई देख्दैन शहर
भुईंभरि छरिएका
गुहुका लिन्डा
छल्दै हिँड्न विवश
बटुवालाई हेर्दैन शहर
ऊ एक धनी देशको शहर हो
उसको समय महँगो छ

गरीवहरू उसको सुकुमार शरीरका
नसम्झन लायक दागहरू हुन्
उनीहरूलाई दिने समय छैन शहरसँग
किनकि शहर
उसका प्रायोजकहरू
कर्पोरेटका मालिकहरू
राजनैतिक दलका प्रायोजकहरू
वरिष्ठ व्यापारीहरू
इन्स्युरेन्स कम्पनीका प्रणेताहरू
करोडपतिहरू र अर्बपतिहरू
गगनचुम्बी भवनका मालिकहरूको
घाटा र नाफाको हिसाब मिलाउन
व्यस्त शहर छ

रमिता किन्ने र रमिता बेच्नेहरू
रमिता हुने र रमिता हेर्नेहरूको
रमितामा रुमलिएको
मस्त छ शहर ।