निर्वस्त्र अग्ला कालो
नाङ्गा पहाडहरू
सेतो हिउँको पछ्यौरी ओढेर
कोक्रामा सुतिरहेको अवोध बालकझैँ
मुस्कुराई रहेको छ
पुरानो रुखका जराको आडमा
आफ्नो अस्तित्व जोगाउँदै छ
अनादिदेखि जोगाई राखेको
सुन्दर अस्तित्वमाथि
शिशिरको कठ्याङ्ग्रिने चिसोसँगै
परेको हिमपातको बोझ सहेर कुरिरहेको छ
वसन्त ॠतुलाई
किनाराले खोलालाई कुरे जस्तै गरी
चिसो निक्खर सेतो हिउँले
उनको सौन्दर्य निखारेको छ, सीमित समयको लागि
सौन्दर्यको दृश्यपान गर्न
आउँछन्-जान्छन् मान्छेहरू थरी-थरी
प्रेयसीसँगै आउने प्रियजनहरू
एकान्तप्रेमी ज्ञानी बन्न मन गरेकाहरू
प्रकृतिलाई मनदेखि प्रेम गर्नेहरू
पर्यावरण जोगाउने पर्यवेक्षकहरू
अपवादमा परेका
प्रकृति बिगार्ने दुश्मन दुष्टहरू
हिउँले छोपेको छ सुन्दर पहाड !
*** *** ***
हिउँले ढाकेको सुन्दर पहाड
बडेमानको विराट सेतो क्यानभासझैँ देखिन्छ
अग्ला-होचा सुन्दर वृक्ष र लताहरू
फुल्न समय पर्खी बसेको जंगली फूलका रुखहरु
बास बस्न रुखको हाँगोमा
बसेका चराहरू
बोट-बिरुवालाई छेको पारेर
बग्दै गरेका स-साना खहरे खोला
सिपालु चित्रकारको
लामो मिहिनेतपछि
तयार भएको चित्रजस्तै देखिन्छ
हिउँले छोपेको सुन्दर पहाड ।
*** *** ***
हिउँमाथि टेकेर हिँड्छन्
मान्छेहरू, जीव र जन्तु के के
सास भएका थुप्रै प्राणीहरू
सौन्दर्य बिगार्दै, कुरुप बनाउँछ
दु:खी भएर पग्लन्छ अनि बग्छ
हिउँको पानी आँशुजस्तै बनेर
माथि आकाशमा उदाएको
घामको तापले पग्लन्छ
मान्छेले टेकेको पैतालाको डोब हराउँछन्
घाम नउदाएर पटकपटक हिउँ पर्दा पनि
मेटाउने गर्छन् सबै-सबै
जिउँदो प्राणीले बनाएका डोबहरू
आकृति मेटाउँछन्
आकृति बनाउँछन्
हिउँमा कोरेका कथाहरू
हामी हुँदाहुँदै मेटाउँछन्
हामी हिँडेका हिउँमा परेको डोबहरू
हामी नहुँदा त कसरी रहन्छन् होला र खै ?
जीवनका डोबहरू…
जीवनजस्तै पहाड छोपेको हिउँ
हिउँजस्तै ब्रह्माण्ड मेरै हो भन्ने मान्छेको जीवन
हिउँले छोपेको सुन्दर पहाड ।
काभ्रेपलान्चोक, पाँचखाल-११
हाल- लिमासोल, साइप्रस



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 








