मलाई लैजानोस् यहाँबाट मेरो घर
मलाई मेरै घरको आँगनमा
मेरै आमाको छेउमा
एकछिन हतार नगरी सुत्न दिनोस्
तपाईंलाई जब
अब यसलाई उठाउनु पर्छ भन्ने लाग्छ
अनि
आफ्नै बारी मुनिको खोल्सामा अटेसमटेस गर्दै
आफ्नै हावासँग पिङ्ग खेलिरहेको झ्याङ्गबाट बाँस निकाल्नोस्
आफ्नै बारीको डिलमा भुइँ नै छुने गरी लहरिएको
हरियो बाबियोको चुल्ठोले
बाँसमा टनक्क बाँध्नोस्
मेरा बाजेले पहिलै हटारु भएर गएको बेला
किनेर ल्याएको शंख
पारि डाँडोसम्म सुनिने गरी
बजाउँदै मेरै गाउँको बाटो हुँदै मेरै बगरमा लिनुहोस्

मलाई लैजानोस् यहाँबाट मेरो घर
ताकि मेरो आँगनभरि मेरा गाउँलेहरू होउन्
मेरा सम्झना लायक सम्झनाहरू सम्झँदै
पछ्यौरीको सप्कोले आँशु पुछुन्
म स्यानो छँदा मैले गरेका बिन्ठ्याइहरू सम्झँदै
भक्कानिएर रोउन्
एसएलसी पास भएपछि साथीहरूसँग छुट्टिँदा
साथीहरूले हस्ताक्षर गरेको
स्कुल ड्रेस पुरानो बाकसमा छ
त्यही स्कुल ड्रेसको गोजीमा छ, उसले दिएको एउटा रुमाल पनि
मेरा सबै लुगा नाङ्लोमा राखेर
गाउँका दिदीबहिनीहरूले दोबाटोमा जलाउन्
र हेरुन्
पर जाउन्जेल मलामीहरूको लाम

मलाई लैजानोस् यहाँबाट मेरो घर
मलाई मेरै बगरको किनारामा
मेरै जङ्गलका काँचापाका दाउराले
बनाएको चितामा सुताउनोस्
र, अन्तिम पटक मेरै खोलाको
एक अञ्जुली पानी खन्याइदिनोस्
म पिउन चाहन्छु देशको पवित्र प्रेम
म सल्किनुभन्दा अघि
एकछिन म सानो छँदा खेलेको
मेरै खोलामा आराम गर्न चाहन्छु
म चाहन्छु‑
मेरो चिसो भएको शरीर
आफ्नै छोराले सल्काएको तातो आगोले
न्यानो बनाउँदै जलोस्
म धुँवा बनेर आफ्नै आकासमा उड्न चाहन्छु
म अस्तु बनेर आफ्नै खोलामा बग्न चाहन्छु
मलाई लगिदिनोस् यहाँबाट मेरो घर
मलाई लगिदिनोस् यहाँबाट मेरो देश
अन्तिम पटक म मेरो देशको माटो छुन चाहन्छु ।

रुकुम पश्चिम