शैलझैँ शिर उँचो धडमाथि
बज्रतुल्य तनमा दृढ छाती
देशको र जनको हितनिम्ति
गर्छ चिन्तन सधैँ दिन राती ॥१॥

फाल्न देशभरको तम कालो
पार्न लोक झलमल्ल उज्यालो
ऊ उठ्यो अघि बढ्यो नडराई
सुम्पियो रगत राष्ट्र बचाई ॥२॥

धीर नै स्थिर भयो दृग चिम्ली
देशको र जनको हित निम्ति
त्यागले शिखरको शिर चुम्यो
न्याय निम्ति बलिदान सकार्यो ॥३॥

सुन्छ केवल कथा अब अर्कै
धूर्तसङ्गत ब्यथा जड चर्कै
मस्त व्यस्त छ डकार छ खास
छैन चिन्तन सुक्यो कि सुवास ॥४॥

त्यागको कदर छैन छलेर
वीरको रगतमा किन झेल ?
गर्दछौँ किन र दानव बन्दै
भर्दछौँ उदर देश निफन्दै ॥५॥

मित्र हो! समयले सबलाई
जे दियो जति दियो नलजाई
चित्त चोर कपटी नबनाऔँ
रक्तरञ्जित धरा ल सह्यारौँ ॥६॥

स्वस्थ चिन्तन सफा दिल पारी
ती शहीद जनका फूलबारी
स्वच्छ हून् शुभप्रभात जगाऊँ
योगदानपथमा पद हालूँ ॥७॥

फर्पिङ, काठमाडौँ
हालः स्विन्डन, बेलायत