उड्न मन छ
स्वच्छ सफा नीलो गगनमा
कुद्न मन छ धर्तीलाई छातीमा राखेर
पिँजडाबाहिर आउने प्रयासमा छु
पृथ्वी धेरै ठूलो छ अनन्त विशाल
निर्दयी बाहुबली अँठ्याउछ फुत्कन खोज्छु
निर्मल जल सफा हावामा घुम्ने रहर छ
शरीरको गन्ध फैलाउन आतुर छु
हिमाल, पहाड, तराई, खोलानाला
झरना, कुना कन्दरा चहार्न मन छ
एकथोपा पानीका लागि भौँतारिनु छैन
केवल आजाद भई पौरख खियाउनु छ
सारा बन्धन मुक्त हुनु छ, केवल मुक्त
परनिर्भर पाखुराको खिया हटाउनु छ
जाँगर जाँगरिलो बनाउनु छ
जादुगरले जादुगरी गरेजस्तै गर्नु छ
दिनरात खटेर स्पष्ट दृष्टि लागु गर्नु छ
पक्षीको मुक्ति गीत गाएर होइन
अभ्यास व्यवहारमा स्वतन्त्रता चाहिन्छ
मृत्यु सम्भावनाको पिँजडामा धेरै नबसाउनुस्
कैदखानाबाट मुक्त गर्नुस् छिटै पहल गर्नुस्
टाउको अड्क्याएर तमासा नगर्नुस्
फुत्काउनुस् छिटो बरु पिँजरा भाँच्नुस्
पिँजरा खोल्नुस्, लुट्नुस्, फोड्नुस्, कामना छ
अनन्त आकाश उड्नु छ, स्वतन्त्रता चाहिन्छ
स्वाधीनता बन्धक छ, बहादुरहरू कैद छन्
पराश्रित भई शक्तिमा रोइकराई विलौना गर्दैछ
आँसु, रगत अनि पसिना अवमूल्यन हुँदै छ
अब अवसरमा परिणत गर्नु छ
अनि मात्र छाती फैलाउन सकिन्छ
गौरवले टाउको उठाउन सकिन्छ
विश्व रङ्गमञ्च झकझक्याउन सकिन्छ
तितरबितरलाई समेट्न सकिन्छ
आमाको उच्चआदर्श सिकाउनु छ
आफ्नै माटोमा सुगन्ध फर्काउनु छ
प्रलोभन अपमान दरगुजारा छाडेर
गिठ्ठा, भ्याकुर, कोदो, फापर खाएर होस्
अब साधना गर्नु छ, शक्तिशाली बन्नु छ
दयामायाको भिख छाडेर पसिना बगाउनु छ
स्वतन्त्रताको ग्यारेन्टी चाहिन्छ
स्वतन्त्रता चाहिन्छ, गरी खाने स्वतन्त्रता
आजादी स्वार्थसिद्धि होइन
अनगिन्ती शहीदको संघर्ष हो
गाली तालीको अभिव्यक्ति होइन
अन्धभक्तको देवत्वग्रहण होइन
स्वतन्त्रता माने तुष्टीकरण हो
शहीदको सपना साकार पार्नु हो
स्वस्थ, विकसित, समृद्ध नेपाली होस्
मिलिजुली अखण्ड अक्षुण्ण नेपाल होस्
गाँस, बास, कपास, रोजगारीको स्वतन्त्रता
अवश्य चाहिन्छ बहाना गर्न पाइन्न ।
• महालक्ष्मी-०१, इमाडोल
ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ मंसिर २०८२, बुधबार 










